राजेश भारतीय क्लबमा अनुबन्ध

विराटनगर, ३१ भदौ । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियार भारतीय क्लबमा अनुबन्ध भएका छन् । राजेशले सामाजिक सञ्जालमार्फत् आफूले भारतीय क्लबबाट फुटबल खेल्ने बताएका छन् ।

भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । आई लिगका लागि राजेश बिहीबार भारत जाँदैछन् ।

राजेश अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन् । गत वर्षको ‘ए’ डिभिजन लिगमा उनले न्यूरोड टिम (एनआरटी) बाट खेलेका थिए ।

गत वर्ष मंसिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा राजेश टोलीको महत्वपूर्ण सदस्य थिए ।

यसअघि नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थिए । उनलाई अघिल्लो महिना भारतको दोस्रो डिभिजन लिग खेल्ने क्लब मोहम्मेदन स्पोर्टिङले अनुबन्ध गरेको थियो ।

राष्ट्रिय टोलीका फुटबलर अभिषेकले त्यहाँबाट ११ नम्बरको जर्सी लगाएर खेल्नेछन् ।

Loading...