कोरोना संक्रमितलाई कस्तो चाहिन्छ पोषण ?

ओमप्रकाश साह
(पोषण विशेषज्ञ)

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणको दर बढ्दो छ । कोरोनालगायत अन्य संक्रमणबाट बच्नका लागि शरीरको ‘इम्युनिटी’ अर्थात् प्रतिरक्षा प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

संक्रमण बढ्दै गएका कारण अधिकांश संक्रमितहरु होम आइसोलेसन छन् ।

संक्रमण भएको अवस्थामा प्रतिरक्षा प्रणालीलाई विकास गर्न र रोगसँग लड्न के खुवाउने, बालबालिका, वृद्ध, गर्भवती तथा मधुमेह, रक्तचापलगायतका अन्य स्वास्थ्य समस्या भएका संक्रमितलाई के खुवाउने, कसरी खानपानको तालिका मिलाउने भन्ने चिन्ताको विषय बनेको छ ।

सामाजिक सञ्जालमा कोरोना संक्रमणबाट बच्न तथा संक्रमितलाई बेसार पानी, तातोपानी तथा अन्य जडिबुटीको सेवन गर्ने सल्लाह दिनेहरु धेरै छन् । सरकारले पनि तातोपानी र जडिबुटी प्रयोग गर्न आग्रह गरिरहेको छ ।

मात्रा मिलाएर सेवन गर्दा शरीरलाई फाइदा भए पनि यसले भाइरस मार्ने वैज्ञानिक प्रमाण भने छैन ।

भिटामिन, औषधि तथा जडिबुटीको सेवन गर्नुभन्दा इम्यिुनिटी पावर बढाउन खानपानमा विषेश ध्यान दिनु पर्छ ।

शरीरमा रोगसँग लड्ने एन्टिबडी उत्पादन हुन नसके संक्रमणबाट बचाउन दाबी गरेका यी खानेकुराले फाइदा गर्न सक्दैन ।

संक्रमितले आफ्नो दैनिक डाइटमा समावेश गर्नु पर्ने खाना

हरेक दिनको खानामा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र मिनिरल्स समावेश गर्नु धेरै आवश्यक हुन्छ । आहारमा पर्याप्त प्रोटिनले प्रतिरक्षा कोषहरूको गुणन र एन्टिबडीहरूको उत्पादनमा मद्दत गर्छ । एन्टिअक्सिडेन्ट पौष्टिक तत्व (भिटामिन सी, ई, ए, डी, सेलेनियम, जिंक, तामा, र म्याग्निज जस्ता खनिज पदार्थ र क्यारोटिनोइड) ले रोग लगाउने जीवाणुहरूको प्रवेश रोकेर, प्रतिरक्षा कोषलाई सक्रिय पारी एन्टिबडीको उत्पादन गर्न मद्दत गर्छ ।

संक्रमितले खाने प्रत्येक छाकमा कार्बोहाइड्रेटका लागि कोदो, गँहु, मकै, फापर, चामल, आलु, पिँडालु, प्रोटिनका लागि भिजाएर राखेको गेडागुडी, दुध, माछा, कुखुराको मासु, दाल तथा भिटामिन र मिनिरलका लागि डाइटमा हारियो साग सब्जी, टमाटर, सलाद, फलफूल समावेश गर्नुपर्छ ।

भिटामिन सीका लागि अमला, कागती, अम्बकको प्रयोग गर्नु पर्छ । खानामा कागती, टमाटर, तिल समावेश गर्दा खानाबाट आइरन प्राप्त गर्न सकिन्छ ।

ओखर, हाडे बदाम, फर्सीको बियाँ, आलस पनि प्रयोग गर्न सकिन्छ । खानामा यी सबै कुरालाई समावेश गर्न सके यसले प्रतिरक्षा प्रणालीलाई विकास गरी बलियो बनाउन, एन्टिबडी उत्पादन गर्न मद्दत गर्छ जसले कोभिडको संक्रमणलाई मात्र नभएर अन्य रोगबाट पनि आफूलाई बचाउन सकिन्छ ।

मधुमेह, प्रेसर तथा अन्य स्वास्थ्य समस्या भएमा

मधुमेह भएका संक्रमितको खानामा रोटी, पोलिस नगरेको चामलको भात (१–२ सानो गिलास), खानामा तरकारीको मात्रा खाना जतिको वा सोभन्दा धेरै हुनुपर्छ ।

रक्तचापका लागि प्याकेज खाना, फ्राइड खाना, तेल धेरै भएको खानालाई प्रतिबन्धित गरी दैनिक ४ देखि ५ ग्राम मात्र नुनको सेवन गर्न उचित हुन्छ ।

स्वास्थ्य समस्या भएका व्यक्तिहरूले खानामा हरियो सागसब्जी तथा तरकारीको मात्रा बढाई रातो मासुको सेवन गर्नुभन्दा कुखुराको मासु वा माछाको सेवन गर्न सकिन्छ ।

हरेक पटक खानापछि १० मिनेटका लागि हिँड्न अति आवश्यक हुन्छ । स्वास्थ्य समस्या भएका व्यक्तिले नियमित सेवन गरिरहेको औषधिको बारेमा आाफ्नो डाक्टरसँग सल्लाह लिनु पर्छ ।

गर्भावस्था वा बालबालिका संक्रमित भएमा

गर्भवती महिला र बालबालिकालाई अन्यको तुलनामा बढी मात्रामा पोषक तत्वको आवश्यक हुन्छ । त्यही भएर उनीहरूको खानामा माथि उल्लेख भएका खानाका साथै, दुधको मात्रा बढाउने (दिनभरिमा ५०० एमएल) गर्नुपर्छ ।

प्रशस्त आइरन भएको खानेकुरा, हारियो सागसब्जी, फलफूल गेडगुडी, खानेकुरासँग कागाती र टमाटरको प्रयोग गर्नाले आइरनको उपयोग राम्ररी हुन्छ ।

झोलिलो तथा पोषिलो खानाका साथै अन्डा, माछा, मासु (कलेजो), दुध वा दुधजन्य पदार्थमध्ये कुनैलाई प्रत्येक दिनको खानामा समावश गराउनु पर्छ ।

बजारमा पाइने प्याकेट खानाले शरीरको हर्मोनलाई असन्तुलन गरी आवश्यक पोषक तत्वको अवशोषणमा बाधा सिर्जना गर्ने हुँदा यस्ता खानेकुरालाई त्याग्नु नै उचित हुन्छ ।

गर्भवती महिलाले चिया, कफीको सेवन गर्न हुँदैन । बच्चालाई मोबाइल, ल्यापटप तथा टिभीको स्क्रिन अगाडि राखेर खान दिनु हुँदैन, यसरी खान दिँदा खाना खाएको राम्रोसँग पच्दैन जसले शरीरको हर्मोनलाई असन्तुलित बनाउने गर्छ ।

वृद्ध अवस्थाका संक्रमित भएमा

वृद्ध अवस्थामा शरीरलाई चाहिने क्यालोरीको मात्रा अन्य उमेर समूहको भन्दा कम हुन्छ । यस्तो अवस्थामा भएकाहरूको पाचन प्रणाली पहिलेको तुलनामा कमजोर हुँदै जाने हुँदा पच्न सजिलो हुने खानेकुराको सेवन गर्नु नै उचित हुन्छ ।

संक्रमितलाई जाउलो, दाल, गेडागुडी, तरकारीको झोललगायत मजाले पकाएर खान दिँदा सजिलै पचाउन सक्छन् ।

एकैपटक धेरै खान दिनुभन्दा पनि पटक–पटक थोरै–थोरै खाना दिनुपर्छ । थोरै दिने खाना शरीरमा उर्जा प्रदान गर्नेखालको हुनुपर्छ । जसका लागि खानामा गाईको घ्युलाई समावेश गर्न सकिन्छ । साथै, दैनिक राती सुत्नुअगाडि एक गिलास दुधको सेवन पनि जरुरी हुन्छ ।

कोभिड संक्रमितले खान नहुने खाना

संक्रमितले शरीरको तापक्रमभन्दा कम तापक्रम भएका खानेकुरा (जस्तै, चिसो पेयपदार्थ तथा फ्रिजमा राखिएका) सेवन गर्नु हुँदैन । त्यसको साटो सर्बत, दही, मोही, लस्सीको सेवन गर्न सकिन्छ ।

सफ्ट ड्रिंक्स, चिया, मिठाईलगायतका चिनी भएको खानेकुराको सेवन गर्नु हुँदैन । चिनीको विकल्पमा सक्खर र महको प्रयोग गर्नु पर्छ । साथै मोमो, थुप्पा, निम्की, समोसा भुजिजालगायत परिष्कृत आँटाबाट बनेका खानेकुराको सेवन त्याग्नु पर्छ । साथै, पकौडा, रोस्टलगायत तेलमा तारेका, भुटेका, रातो मासु खानामा समावेश गर्नु हुँदैन । धुम्रपान, मदिरालगायतका सुर्तीजन्य पदार्थको सेवनले समस्या थप जटिल बनाउन सक्ने हुँदा यसलाई त्याग्नु नै उचित हुन्छ ।

प्रतिरक्षा प्रणालीलाई सुधार गर्ने कसरी ?

बिहान उठ्नेबित्तिकै तातो (कागती, तुलसी, र अदुवा) पानीको सेवन गर्ने, नास्तामा बदाम, सूर्यमुखी फूलको बीउ, फर्सीको बीउ तथा आलस समावेश गर्नु पर्छ, खानामा दूध, अन्डा, अंकुरित फलफूल, ब्रोकाउली र गाढा हरियो पातदार तरकारी समावेश गर्न सकिन्छ ।

दिउँसो टमाटरको रस, सुन्तलाको रस वा कागती–पानी, सुत्ने समयमा हर्दी राखेको पानी वा दुध पिउने गर्नुपर्छ । इम्युनिटी पावर बढाउन खानपानसँगै नियमित शारीरिक व्यायाम, प्रशस्त मात्रामा पानी, राम्रो निद्रा पनि आवश्यक हुन्छ ।

इम्युनिटी पावर बढाउन सुरुमा इम्युन सिस्टमलाई कमजोर पार्ने प्याकेटका खानेकुरा, गुलियो खानेकुरा, कार्बोनेटेड पेय पदार्थ, धुम्रपान तथा मदिरालाई त्याग्नु पर्छ ।

हरेक दिन केही समयका लागि घाममा बस्ने तथा दैनिक दुई घण्टा व्यायाम गरी दिनभरि आराम गरेर बस्नुभन्दा पनि केही न केही शरीरिक अभ्यासहरू गरिरहनु पर्छ । सरसफाइमा ध्यान दिएर बारम्बार हात धुनु पनि त्यति नै आवश्यक छ ।

(विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा संक्रमितका लागि डाइट प्लान गर्दै आएका आहारविद् तथा पोषण विशेषज्ञ ओमप्रकाश साहसँग कोशी अनलाइनका लागि अंकिता ताम्राकारले गरेको कुराकानीमा आधारित)

Loading...