पूर्वक्लब टोटनह्याम फर्किने बेलको चाहना

मड्रिड, ३१ भदौ । रियल मड्रिडका विंगर ग्यारेथ बेल पूर्वक्लब टोटनह्याम हटस्पर फर्किन चाहेको बताइएको छ । वेल्सका स्टार बेलका एजेन्ट जोनाथन बर्नेटका अनुसार टोटनह्याम र रियलसँग उनी प्रिमियर लिग फर्किने विषयमा कुरा भइरहेको छ ।

सन् २०१३ मा इंग्लिस क्लब छोडेर स्पेनको राजधानी मड्रिड आएका बेल पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदान नेतृत्त्वको टोलीमा पर्न छाडेका छन् । ३१ वर्षीय बेलले पछिल्लो सिजनमा सबै प्रतियोगिता गरेर १६ खेलमा मात्र खेल्ने मौका पाए ।

रियलबाट मैदान उत्रिने मौका कमै पाउन थालेपछि बेल यसै समरमा क्लब छोड्ने चर्चामा छन् । उनलाई लिएर इंग्लिस क्लबद्वय म्यानचेस्टर युनाइटेड र पूर्वक्लब टोटनह्यामको इच्छा रहेको बताइन्छ ।

मंगलबार बेलका एजेन्ट बर्नेटले टोटनह्याम नै उनको गन्तब्य हुनसक्ने पुष्टि गरेका छन् । ‘स्पर्सप्रति ग्यारेथको माया कायमै छ’, बर्नेटले बीबीसी स्पोर्ट्ससँग भने, ‘हामी रियल र टोटनह्यामसँग कुरा गरिरहेका छौं । जहाँ उनी जान चाहन्छन् ।’

सात वर्ष बर्नाबेउमा बिताएका बेलले रियलबाट चार वटा च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् ।

रियलको जर्सीमा २५१ खेल खेलेका बेलले १०५ गोल गरेका छन् भने दुई वटा ला लिगाको उपाधि जितिसकेका छन् ।

Loading...