नोबेलमा पीसीआर रिपोर्ट पर्खदा-पर्खदै महिलाको मृत्य, मृत्युपछि रिपोर्ट पोजेटिभ

विराटनगर, ३१ भदौ । विराटनगरको नोबेल मेडिकल कलेजमा कोरोना भर्ना भएकी महिलाकाे मृत्यु पछि काेराेना संक्रमण पुष्टि भएकाे छ । पित्तथैलीको शल्यक्रियाका लागि भर्ना भएकी मोरङ बेलबारी नगरपालिका–७ बाहुनीकी ६४ वर्षीय महिलाको मृत्यु पछि काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

पित्तथैलीमा पत्थरीयाको शल्यक्रियाका लागि २८ भदाैमा भर्ना भएकी महिलाकाे मंगलबार राति मृत्यु भएको हो । मृत्युपश्चात बुधबार पोजेटिभ रिपोर्ट आएको हो ।

‘शल्यक्रियाका अघि पीसीआर जाँचका लागि स्वाब संकलन गरेका थियौं,’ नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालले भने, ‘मंगलबार राति मृत्यु भयो ।’

उनका अनुसार बुधबार शल्यक्रियाका गर्ने तयारी थियाे । ‘कोरोना जाँच नगरी शल्यक्रिया हुँदैन,’ उनले भने, ‘पीसीआर रिपोर्ट नआउँदै उहाँको मृत्यु भयो ।’ मृतक महिलामा अत्याधिक पेट दुख्ने र श्वासप्रश्वासको समस्या थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय माेरङका प्रमुख ज्ञानबहादुर बस्नेतले मृत्युपछि महिलामा संक्रमण पुष्टि भएकाे बताए ।

राई थरकी ६४ वर्षीय महिलाको मृत्यु भएसँगै बेलबारी नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि बेलबारी–५ की महिलाको मृत्यु भएको थियो । माेरङमा काेराेना संक्रमणका कारणा मृत्यु हुनेकाे संख्या २९ पुगेकाे छ । संक्रमणका कारण प्रदेश १ मा ५२ जनाकाे मृत्यु भएकाे छ ।

Loading...