ह्यामिल्टनले लगाएको टी–शर्टमाथि एफआईएले अनुसन्धान गर्ने

इटाली, ३१ भदौ । इटालीस्थित टस्कन ग्रान्ड प्रिक्सकोमा भएको सफल रेसपछि अन्तर्राष्ट्रिय अटोमोबाइल संघ (एफआईए) को ध्यान लेविस ह्यामिल्टनले लगाएको टी–शर्टमाथि केन्द्रित भएको छ ।

६ पटकका फर्मुला वान वर्ल्ड च्याम्पियन ह्यामिल्टनले रेसका दौरान लगाएको टी–शर्टमा एफआईएको नजर परेको हो । ‘ब्रोना टेलरको हत्या गर्ने पुलिसलाई पक्राउ गर’ भन्ने नारा लेखिएको टी–शर्ट लगाएका कारण एफआईले उनीमाथि अनुसन्धान सुरु गरेको छ ।

ब्रोना एक मेडिकल प्राविधिक हुन्, जसलाई अमेरिकी प्रहरीले केन्टकीस्थित उनकै निवासमा आठ पटक गोली प्रहार गरी हत्या गरेको थियो । अश्वेत अमेरिकी नागरिक ब्रोनामाथि भएको अत्याचारको विरोधको समर्थन गर्दै ह्यामिल्टनले उक्त नारा भएको टी–शर्ट टस्कन ग्रान्ड प्रिक्सकोमा लगाएका थिए ।

‘म सडकमा मानिसहरूविना कारण मारिएको देखेर चुप बसिरहन सक्दिनँ । म सधैं यी विषयमा आवाज उठाउन चाहन्छु,’ टी–शर्टको विषयमा उनले भनेका छन्, ‘हत्याराहरू अझै स्वतन्त्र भएर हिँडिरहेका छन् र हामी यी सबै देखेर मौन बस्न हुँदैन । यस्ता विषयमा सचेतना जगाउन अत्यन्त आवश्यक छ ।’

ह्यामिल्टनको विषयमा अनुसन्धान भइरहेको एफआईएका प्रवक्ताले आइतबार पुष्टि गरिसकेका छन् । प्रवक्ताले भनेका छन्, ‘उनको कार्यमाथि अनुसन्धान भइरहेको छ । एफआईएको नियमअनुसार रेसका दौरान कारमा वा कारभित्र कुनै पनि राजनैतिक वा धार्मिक विषयसँग सम्बन्धित कार्य गर्न पाइँदैन ।’

ह्यामिल्टनले लगाएको टी–शर्टमाथि अनुसन्धान भइरहेको एफआईएले बताइरहेको भएको पनि प्रतियोगितामा सहभागी हुने कारका ड्राइभरको विषयमा सो नियम लागू हुने वा नहुने भन्ने विषयमा भने अन्योल रहेको छ ।

रेसका दौरान ह्यामिल्टनले आफूले लगाएको सूटमाथि नारा लेखिएको टी–शर्ट लगाएका कारण र स्पष्ट कानून नहुँदा उनी कारवाहीमा नपर्न सक्ने सम्भावना रहेको छ ।

आफ्ना टोलीका मुख्य सदस्यमाथि अनुसन्धान सुरु भएपछि मर्सिडीजले यस विषयमा प्रतिरक्षा गरिरहेको छ । आफ्ना चालक ह्यामिल्टनले नारा लेखिएको टी–शर्ट लगाएको भए पनि सो कुनै पनि राजनीतिक र धार्मिक विषयसँग सम्बन्धित नरहेको मर्सिडीजले बताएको छ ।

मर्सिडीजद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हामी फर्मुला वानमा कुनै पनि प्रकारको राजनीति गरिरहेका छैनौं, यो त मानवअधिकारको आधारभूत मुद्दा हो । हामी यस्ता विषयलाई उजागर गर्ने र चेतना जगाउने कोशिस गर्दैछौं । राजनीति र यसमा ठूलो भिन्नता छ ।’

Loading...