दिनेशको अर्को फिल्ममा प्रदीप अनुबन्धित

विराटनगर, ३१ भदौ । निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्ममा अभिनेता प्रदीप खड्कालाई अनुबन्धित गरेका छन् ।

प्रदीप हाल निर्देशक तथा निर्माता सन्तोष सेनको फिल्म ‘हुतुतु’को तयारीमा रहेका थिए । सरकारले फिल्मको छायांकनका लागि अनुमति दिएपछि फिल्म ‘हुतुतु’को छायांकनमा व्यस्त रहने बताइए पनि ‘हुतुतु’ भन्दा अगाडि राउतले निर्देशन गर्ने सामाजिक कथामा आधारित फिल्ममा प्रदीपले साइन गरेका हुन् ।

राउतले यो फिल्मको कथा केही वर्षअगाडि सोचेका थिए भने लकडाउनको समयमा स्क्रिप्ट फाइनल गरेका हुन् । निर्देशक राउत र प्रदीप पहिलो पटक फिल्ममा एकअर्कासँग काम गर्दैछन् । यसअघि फिल्म ‘भैरवी’ मा उनीहरूबीच टिमअप भए पनि विभिन्न कारणले फिल्म निर्माण हुन सकेन । साथै, राउतको निर्देशनमा तयार हुने स्वर्गीय गायक अरुण थापाको बायोपिकमा काम गर्न प्रदीप तयार भएका थिए ।

तर, अरुण थापाको भूमिकामा प्रदीप नसुहाउने भन्दै विरोध भएपछि फिल्मको निर्माण रोकिएको छ । नाम तय नभइसकेको नयाँ फिल्ममा प्रदीपले २० लाख पारिश्रमिक लिएको चर्चासमेत चलेको छ । तर, यसमा कुनै सत्यता नभएको निर्देशक राउतको भनाइ छ । प्रदीप पनि फिल्ममा आफूले बुझेको भन्ने पारिश्रमिकमा सत्यता नभएको दावी गरेका छन् । उनी फिल्मलाई लिएर निकै उत्साहित छन् ।

फिल्ममा प्रदीपले गाउँले युवकको भूमिका निभाउने छन् भने अभिनेत्रीको टुंगो भइसकेको छैन । अर्कोतर्फ कोरोना महामारीका कारण फिल्महलहरू बन्द भएपछि प्रदीप अभिनित फिल्म ‘प्रेमगीत ३’ रिलिज हुन बाँकी छ ।

Loading...