Rumpum

Rumpum Advertisement

मेस्सीसँगको सम्बन्धको विषयमा बोले कोइम्यान

मेस्सीसँगको सम्बन्धको विषयमा बोले कोइम्यान

बार्सिलोना, ३१ भदौ । बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले कप्तान लियोनल मेस्सीसँगको सम्बन्धको विषयमा बोलेका छन् ।

‘फक्स स्पोर्ट्स’सँगको अन्तर्वार्ताका क्रममा डच प्रशिक्षक कोइम्यानले मेस्सीसँगको सम्बन्ध राम्रो रहेको बताएका हुन् ।

केही समययता अर्जेन्टिनी स्टार मेस्सीले लामो बार्सिलोना बसाइ अन्त्य गर्ने घोषणा गरेका थिए । ३३ वर्षीय मेस्सी र नयाँ प्रशिक्षक कोइम्यानबीचको सम्बन्ध ठीक नभएका कारण उनले क्लब छोड्ने मनसाय बनाएको चर्चा चलेको थियो ।

विदेशी सञ्चामाध्यमहरूका अनुसार क्लब छोड्ने घोषणाका बीच मेस्सी र कोइम्यानले एकपटक भेट गरेका थिए । भेटमा मेस्सीले क्लब छोड्ने अडान काेइम्यानसामु दोहोर्‍याएका थिए ।

तथापि, केही दिनपछि मेस्सीले तेस्रोपल्ट क्लब छोड्ने आफ्नो मनसाय बदल्दै क्याप नोउमै रहने बताएका थिए ।

‘बाहिर जस्तो हल्ला भए पनि मेस्सीसँगको मेरो सम्बन्ध राम्रो छ । बार्सिलोना र मेस्सीबीच द्वन्द्व भएको हो । मैले मेस्सीलाई पहिलेदेखि नै बार्सिलोनामा निरन्तरता दिन भनेको थिएँ’, कोइम्यानले भने, ‘तथापि, यो कुरा अब सकिसकेको छ ।’

बार्सिलोनाका पूर्वखलाडी समेत रहेका कोइम्यान हालै मात्र नेदरल्याण्ड्समा प्रशिक्षकको जिम्मेवारी त्यागेर क्याप नोउ आएका हुन् । बार्सिलोनाले क्वीक सेटिनलाई बर्खास्त गर्दै उनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।

उनले आफ्नो पहिलो खेलअन्तर्गत जिम्नास्टिकसँगकाे मैत्रीपूर्ण खेलमा ३-१ गोलको जित दिलाइसकेका छन् ।

आज बार्सिलोनाले दोस्रो मैत्रीपूर्ण खेलका रूपमा जिरोनासँग खेल्दैछ । ला लिगाको तयारीका लागि हुने यो खेल नेपाली समयानुसार राति १०:४५ बजे जोहान क्रुफ स्टेडियममा हुनेछ ।

बार्सिलोनाले सेप्टेम्बर २७ मा भिल्लारियलसँग खेल्दै नयाँ सिजनको ला लिगा थाल्दैछ ।