पीएसजी पहिलो जितको खोजीमा, नेयमार र एम्बाप्पेविना मैदान उत्रिँदै

पेरिस, ३१ भदौ । फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले तेस्रो खेल खेल्दैछ । नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेलमा पीएसजीले नवप्रवेशी क्लब मेट्जसँग प्रतिस्पर्धा गर्दैछ ।

पीएसजीको मैदानमा हुने यस खेलमा घरेलु टोली पहिलो जितको खोजीमा रहेको छ । यसअघि उसले दुवै खेलमा पराजय ब्यहोरेको थियो ।

पहिलो खेलमा लेन्ससँग र दोस्रो खेलमा मार्सेलीसँग पराजित पीएसजी मेट्जविरुद्ध जित निकाल्दै अंक जोड्ने दाउमा रहेको छ । अंकविहीन पीएसजी तालिकाको १८औं स्थानमा छ ।

पीएसजीको आजको प्रतिद्वन्द्वी क्लब मेट्ज पनि पहिलो जितकै खोजीमा छ । यसअघि दुई खेलमा पराजित रहेको मेट्ज पीएसजीमाथि जित निकाल्दै अंक बटुल्ने योजनाका साथ मैदान उत्रिनेछ ।

आजको खेलमा पीएसजी स्टार खेलाडीद्वय नेयमार र किलियन एम्बाप्पेविना मैदान उत्रिँदैछ । ब्राजिलियन स्टार नेयमारले मार्सेलीविरुद्धको खेलमा रातो कार्ड पाएका कारण आजको खेल गुमाउनेछन् ।

यता, फ्रेन्च स्टार एम्बाप्पे भने कोरोना संक्रमित भएका कारण टोलीमा हुनेछैनन् ।

Loading...