जापानको प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित

एजेन्सी, ३१ भदौ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका हुन् ।

किसानका छोरा सुगा अहिले ७१ वर्षका छन् । उनी सन् १९९१ मा प्रधानमन्त्री बनेका किचि मियाजावापछि सबैभन्दा पाको उमेरको प्रधानमन्त्री भएका छन् ।

प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफू सँधै प्रतिबद्ध रहेको बताएका छन् ।

उनको मन्त्रीपरिषद्मा पूर्वअर्थमन्त्री तारो असो र विदेश मन्त्री तोशिमित्सु मोतेगी दोहोरिने सम्भावना देखिएको छ ।

सुगाले यसअघि लिएको मन्त्रीपरिषद्को मुख्य सचिवको जिम्मेवारी भने तत्कालीन स्वास्थ्यमन्त्री कत्सुनोबु कातोले पाउने अपेक्षा गरिएको छ ।

निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको अति निकटस्थ पात्रका रूपमा रहेका सुगालाई यसअघि गत सोमबार पार्टीको प्रमुखमा निर्वाचित गराइएको थियो ।

Loading...