स्वास्थ्यकर जीवनशैली अपनाउँदै सामान्य परिस्थितिमा फर्कन जरूरी छ

मुकेश पौडेल

विश्वव्यापी महामरीको रुपमा फैलँदै गइरहेको कोरोना भाइरसले साँच्चै नै जनजीवनलाई प्रभावित पारेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको यो भाइरस हालसम्म विश्वको कैयौं मुलुकहरुमा संक्रमण बढ्दो अवस्थामा छ । करिब छ महिना बितिसक्दा दुई करोड ९४ लाखभन्दा बढी मानिसहरू संक्रमित भएका छन् भने करिब नौ लाख ३२ हजार बढी मानिसहरुले यसको संक्रमणबाट ज्यान गुमाइसकेको तथ्यांकले प्रस्तुत गरेको छ ।

नेपालमा मात्रै हालसम्मको अवस्थामा करिब ५५ हजारभन्दा बढी मानिसहरु संक्रमित छन् भने तीन सय ६० जनाले ज्यान गुमाइसकेको तथ्यांकले देखाउँछ । सँगसँगै निको भएर घर फर्किनेको संख्या ३९ हजारभन्दा बढी रहेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ । विश्वव्यपीरुपमा हेर्ने हो भने नेपाल संक्रमितको संख्याको आधारमा ५५ औं स्थानमा रहेको पाउन सकिन्छ ।

पाँच महिनाभन्दा लामो समयको बन्दाबन्दीले जनजीवन कष्टकर बन्दै गइरहेको छ भने यसले आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षाको क्षेत्रमा समेत ठूलो असर पुर्‍याएको विज्ञहरुले बताउँदै आएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु मात्र नभई यो लामो समयको बन्दाबन्दीले व्यापारी, उद्योगी, किसान तथा सम्पूर्ण जनतालाई यसले प्रत्यक्ष प्रभाव परेको छ । संक्रमण रोक्न र फैलन नादिनका लागि थुप्रै प्रयासहरु जारी नै छन् भने सरकारले उपयुक्त कदम चाल्न नसकिरहेको र यसको व्यस्थापन गर्न नसकेको चर्चाहरु सुन्न सकिन्छ ।

पछिल्लो समयमा यो संक्रमण नियोजित चाल हो, व्यापार बढाउने तथा शक्तिशाली राष्ट्रहरुले कमजोर राष्ट्रमाथि गरेको अतिक्रमण तथा कब्जाको चाल हुन् भन्ने कुराहरु विभिन्न सामाजिक सञ्जाल तथा मिडियाहरुमा निकै नै सुन्न सकिन्छ । त्यतिमात्र नभई यो संक्रमण विश्व स्वास्थ्य संगठनकै व्यापार हो भन्ने कुरा पनि निक्कै सुन्नमा आएका छन् ।

यी सब कुराहरुको सत्यता के हो भन्ने कुरा आफ्नै ठाउँमा छन् । तर हालसम्मको अवस्थामा आइपुग्दा विश्व स्वास्थ्य संगठनले समेत अब कोरोनाको त्रासमा बस्न नहुने र यसैलाई अँगाल्दै र जीवनशैलीलाई परिवर्तन गर्दै अगाडि बढ्नसमेत आग्रह गरिसकेको छ ।

यिनै कुराहरुलाई मध्यनजर गर्दै अब नेपालमा पनि आफ्नो जीवनशैलीलाई केही परिवर्तन गर्न जरूरी देखिन्छ । आफ्नो सुरक्षामा विशेष ध्यान पुर्‍याउन एकदमै जरुरी छ । सँगसँगै आफ्नो स्वास्थ्यको विशेष ध्यान पुर्‍याउने, साबुनपानीले मिचीमिची हात धुने, खोक्दा र हाच्छ्युँ गर्दा पूरा नाक तथा मुख छोप्ने र सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्दै पुरानै दिनचर्यामा फर्किन जरूरी रहेको देखिन्छ ।

त्यति मात्र नभई, व्यापार–व्यसाय, उद्योग तथा कलकारखाना सार्वजनिक सवारीसाधन, बजार सञ्चालन गर्दा न्यूनतम सुरक्षाका उपयहरु अपनाउँदै अगाडि बढ्न जरूरी रहन्छ । सरकारले समेत यस्ता नीतिहरुको निर्माण गरी कार्यान्वयन गर्दै परिस्थितिलाई सहज बनाउँदै जानुपर्ने जरूरी रहेको छ ।

यस विषम परिस्थितिले हाम्रो मनोवैज्ञानिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव परिरहेकाले कसरी जीवन सामान्य बनाउँदै जाने हो ? यसको उपयुक्त विकल्प खोजेर अगाडि बढ़न एकदमै आवश्यक रहेको छ ।

यस्तो अवस्थामा एकअर्काको सहयोग अपरिहार्य रहन्छ तसर्थ, आफ्नो स्वास्थ्य र सुरक्षामा विशेष ध्यान पुर्‍याउँदै, स्वस्थकर बानीको विकास गरी यस परिस्थितिलाई सहज बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता हो । गलत र भ्रामक कुराहरुको पछि नलागी, तथ्य र सत्यमात्र सुन्ने बानी बसालौं, नियमित व्यायाम गर्ने गरौं, स्वस्थ, पोषिलो र ताजा खानेकुराहरुको सेवन गरौं, स्वास्थ्य रहौं र सुरक्षित बसौं ।

Loading...