विराटनगरको सेनिटरी प्याड उद्योग : आठ मुलुकमा निर्यात, खुला सीमाले स्वदेशमा प्रतिस्पर्धा गर्न समस्या

विराटनगर, ३१ भदौ । नेपालको पहिलो सेनिटरी उद्योग जस्मिन हाइजिनले आफ्ना उत्पादन आठवटा देशमा निर्यात गरिरहेको छ । १४ वर्षअघि विराटनगरमा स्थापना भएको जस्मिनले आफ्ना उत्पादन भारतसहितका आठवटा मुलुकमा निर्यात गर्दै आएको हो ।

सेनिटरी प्याड र डाइपर उत्पादन गर्दै आएको उद्योगले अफ्रिकी र अमेरिकी मुलुकमासमेत आफ्नो उत्पादन निर्यात गर्दै आएको छ । विदेश निर्यात गर्दै आएको उद्योगले स्वदेशी बजारमा प्रतिस्पर्धा गर्न भने गाह्रो छ । खुला सीमाका कारण चोरबाटोबाट भित्रिएका भारतीय र मल्टिनेसनल कम्पनीको उत्पादनसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको हो ।

मल्टिनेसनल कम्पनीका सेनिटरी र डाइपरले सामाजिक दायित्व निर्वाह नगर्ने तर बजारमा आक्रमक विज्ञापन गरेर गरेर स्थानीय उत्पादनलाई असर पारेको जस्मिन हाइजनिकका सञ्चालक पुनित सारडा बताउँछन् ।

जस्मिन हाइजिनले सामाजिक दायित्वअन्तर्गत विराटनगरका विद्यालयका छात्राहरुलाई सेनिटरी प्याड वितरण गर्दै आएको छ । तर स्थानीय तहले विद्यालयका छात्राहरुलाई विदेशी उत्पादन वितरण गर्ने गरेको सारडाले बताए ।

नेपालमा विराटनगरको अलावा बुटवलमा पनि सेनिटरी उत्पादन गर्ने कम्पनी छ । सरकारले नेपालका सेनिटरी उद्योगहरुलाई प्रोत्सहन गर्न कच्चापदार्थमा छुटको व्यवस्था गर्नु पर्ने उनले बताए ।

मल्टिनेसनल कम्पनीका तयारी बस्तुमा १५ प्रतिशतबाट ३० प्रतिशत कर निर्धारण गरे स्वदेशी उद्योगलाई जोगाउन सकिने उनले बताए । वैदेसिक मुद्रा आर्जन गर्ने उद्योग र आयातलाई निरुत्साहन गर्न सरकारले प्रष्ट नीति बनाउनु पर्ने उनको भनाइ छ ।

जस्मिनले आर्थिक वर्ष २०७५/२०७६ मा एक करोड ८० लाखको सेनिटरी प्याड, टवेल, नेकपिन, नेकपिन लाइनर र डाइपर निर्यात गरेको थियो । सोही वर्ष विभिन्न मल्टिनेसनल कम्पनीका छ करोड ३६ लाख बराबरको सेनिटरीलगायतका सामग्रीको आयात भएको छ । जसमा एक करोड ९३ लाख राजश्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७६/२०७७ एक करोड नौं लाख ९७ हजार बराबरको सेनिटरी प्याड, टवेल, नेकपिन र डाइपर निर्यात भएको थियो भने छ करोड ४७ लाख बरारको आयात भएको थियो । जसबाट एक करोड ९९ लाखको राजश्ज संकलन भएको थियो ।

लकडाउनका कारण निकासीमा समस्या भएपछि चालु आर्थिक वर्ष नेपालबाट निकासी हुँदै आएको सेनिटरीको निकासी घटेको छ । साउनयता दुई लाख २६ हजार बराबरको मात्र निकासी भएको छ भने पाँच करोड छ लाख ८१ हजारको आयात भएको छ । जसबाट एक करोड ५१ लाखको राजश्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

अघिल्लो वर्षहरुमा वार्षिकरुपमा आयात हुने परिमाण बराबर यो पटक दुई महिनाभित्रमा नै आयात भएको छ । लकडाउनको कारण बजारमा अभाव हुने भएको कारण व्यवसायीले एकै पटक धेरै सामग्री आयात गरेको हुन सक्ने भन्सार प्रमुख शिव भण्डारीले बताएका छन् ।

Loading...