यू–१६ राष्ट्रिय टोलीका कप्तान लिम्बूलाई छात्रवृत्ति सहयोग

काठमाडौं, ३१ भदौ । नेपाली यू–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

काठमाडौँको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रवृत्ति सहयोग गरेको हो । मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ र कप्तान लिम्बूबीच सोसम्बन्धी सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर भएको हो ।

यसै शैक्षिक सत्रदेखि शुरु भएको मनास्लु कलेजमा हाल व्यवस्थापनका साथै विज्ञान, मानविकी र कानून सङ्कायको पठनपाठन हुने प्रिन्सिपल श्रेष्ठले बताए । कलेजका अध्यक्ष लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले विभिन्न क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् भन्ने सन्देश दिनका लागि छात्रवृत्ति प्रदान गरिएको बताए । भविष्यमा अन्य खेलाडीलाई पनि छात्रवृति उपलब्ध गराउने उनको भनाइ छ ।

यू–१६ फुटबल टोलीका सबै खेलाडीलाई पूर्ण छात्रवृत्ति दिन तयार रहेको कलेजले जनाएको छ । कप्तान लिम्बूले २०७६ सालको एसइई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका थिए। लिम्बू झापाको शरणामतीका स्थायी बासिन्दा हुन् । उनले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । रासस

Loading...