राकिटिकको गोलमा सेभिल्लाको जित

एजेन्सी, ३१ भदौ । यसै समर ट्रान्सफर बार्सिलोनाबाट फर्किएका इभान राकिटिकको गोलमा सेभिल्लाले जित निकालेको छ । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण क्लब फुटबलमा सेभिल्लाले लेभान्टेमाथि जित निकालेको हो ।

मंगलबार राति पिन्टार एरिना फुटबल सेन्टरमा भएको खेलमा सेभिल्लाले लेभान्टेमाथि ३–२ गोलको जित निकालेको हो ।

सेभिल्लालाई जिताउन ओक्याम्पस, एन–नेस्री र राकिटिकले समान एक–एक गोल गरे । लेभान्टेका पोस्टिगो र डेनी गोमेजले एक–एक गोल गरे ।

सेभिल्लाले लेभान्टेको २–० गोलको अग्रता उल्टाउँदै जित निकालेको हो । खेलको १४औं मिनेटमा पोस्टिगो र २३औं मिनेटमा गोमेजले गोल गरेपछि लेभान्टेले पहिलो हाफभरि २–० गोलको अग्रता बनाएको थियो ।

खेलको ५९औं मिनेटमा ओक्याम्पस र ७१औं मिनेटमा नेस्रीले गोल गर्दै सेभिल्लालाई बराबरीमा फर्काए । इन्ज्युरी समयमा राकिटिकले गोल गर्दै सेभिल्लालाई ३–२ गोलको जित निकाले ।

ला लिगाको तयारीका रूपमा सेभिल्ला र लेभान्टले मैत्रीपूर्ण खेल खेलेका हुन् । सेभिल्लाले २७ सेप्टेम्बरमा नवप्रवेशी क्लब कार्डिजसँग खेल्दै ला लिगा थाल्दैछ ।

त्यसअघि उसले जर्मन क्लब बायर्न म्युनिखसँग यूईएफए सुपर कपको फाइनल खेल्दैछ । यो खेल २४ सेप्टेम्बरमा हुनेछ ।

Loading...