Rumpum

Rumpum Advertisement

१०१ वर्षीय पूर्वप्रधानन्यायाधीश सिंहको निधन

१०१ वर्षीय पूर्वप्रधानन्यायाधीश सिंहको निधन

विराटनगर, ३१ भदौ । एक सय एक वर्षीय पूर्वप्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको छ । उनी तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्त पनि हुन् ।

पछिल्लो केही समययता निमोनियाको समस्या देखिएका सिंहको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे निधन भएको पारिवारिक स्रोतले बतायो । उनी विसं २००३ सालमा झापा गोश्वाराको हाकिम भएर सरकारी सेवामा प्रवेश गरेका थिए ।

२००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भएर काम गरेका थिए । उनी २०१२ सालमा शाही सल्लाहकारमा मनोनित पनि भएका थिए ।

त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले तीन वर्षसम्म न्यायालयको नेतृत्व सम्हाले । न्यायालयमा रहँदा सिंहले अदालतका नजिरहरुको अभिलेखीकरणका २०१५ सालबाट नेपाल कानुन पत्रिका (नेकाप)को प्रकाशन आरम्भ गरेका थिए ।

२०१६ सालमा सिंह लोकसेवा आयोगको अध्यक्ष पनि भए । कानुन, वनलगायतका मन्त्री पनि भएका उनलाई २०१८ सालमा राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुख नियुक्त गरेका थिए ।

२०३२ सालमा उनी संविधान सुधार आयोगको अध्यक्ष पद पाउन सफल भए । सिंह त्यसको दुई वर्षपछि तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्त बन्न सफल भए । अख्तियारमा २०४२ साल बैशाख ३० गतेसम्म रहेका उनी त्यसलगत्तै राजसभा स्थायी समितिको सभापतिसमेत बने ।