भाइरस नभएको भए मान्छेले अण्डा पार्थे !

एजेन्सी, ३० भदौ । विश्वमा हाल महामारीको रूप लिएको कोरोना भाइरस मात्र नभएर समय- समयमा अन्य भाइरसहरूले लाखाैंको संख्यामा मानिसहरूको ज्यान लिने गरेको छ ।

विश्वलाई नै समाप्त पार्न सक्ने हुँदा भाइरसहरू संसारबाट नै हराए पनि हुन्छ जस्तो लाग्न सक्छ । तर, भाइरसविना मानिस मात्र नभएर विश्वमा जीवनको अस्तित्व पनि सम्भव हुँदैन । विश्वबाट अचानक भाइरस हराएमा विश्वमा रहेका जीवलाई मर्न एक-दुई दिनको समय लाग्ने अमेरिकाको विस्कन्सिन मेडिसन युनिभर्सिटीका महामारी विशेषज्ञ टोनी गोल्डबर्ग बताउँछन् ।

विश्वमा जीवन चलाउनका लागि भाइरसहरू निकै महत्त्वपूर्ण हुने हुँदा भाइरसले पुर्‍याएको नकारात्मक कुराहरूलाई वेबास्ता गर्नु पर्ने उनको भनाइ छ ।

विश्वमा कति प्रकारका भाइरस छन् भनेर हालसम्म पत्ता लागेको छैन । तर, धेरै भाइरसले मानिसमा रोग नफैलाउने बताइन्छ ।

मानिसले अण्डाको साटो सिधै बच्चालाई जन्म दिन्छ भने यो भाइरसको कारणले नै हो । आजभन्दा करिब १३ सय करोड वर्षअघि मानिसको पूर्खामा रेट्रो भाइरसको संक्रमण ठूलो मात्रामा फैलिएको थियो । त्यही संक्रमणबाट मानिसको कोशिकामा आएको एक जीनले गर्दा मानिसमा अण्डा दिनुको साटो सिधै बच्चा जन्माउने क्षमताको विकास भएको बताइन्छ ।

हजारौँ भाइरसले विश्वको इकोसिस्टमलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन् । मेक्सिकोको नेशनल अटोनोमस युनिभर्सिटीकी भाइरस विशेषज्ञ सुसाना लोपेज शेरेटनले भाइरसविना हामी बाँच्नै नसक्ने बताएकी छन् ।

पृथ्वीमा भाइरस र अन्य जीवहरू सन्तुलित वातावरणमा बाँच्ने गर्छन् ।

पेन्सिलभेनिया स्टेट युनिभर्सिटीकी मेरलिन रुसिंकका अनुसार विज्ञानमा रोग फैलाउने भाइरसको बारेमा मात्र अध्ययन हुने हुँदा पृथ्वीमा जीवन चलाउन भाइरस कति महत्त्पूर्ण छ भनेर धेरैलाई थाहा छैन ।

विश्वमा करोडौँको संख्यामा भाइरस उपलब्ध छन् जसमध्ये हालसम्म केही हजार भाइरसको बारेमा मात्र मानिसलाई थाहा छ । धेरैजसो भाइरसको बारेमा जानकारी नभएको कारण कुन भाइरस मानिसका लागि कति हानिकारक छ भनेर हालसम्म पत्ता लाग्न सकेको छैन ।

भाइरसको प्रजातिको कूल संख्याको हिसाब गर्दा मानिसका लागि खतरनाक भाइरसको संख्या शून्य प्रतिशतको नजिक देखिने ब्रिटिस कोलम्बिया युनिभर्सिटीका वैज्ञानिक कर्टिस सटलको भनाइ छ ।

ब्याक्टेरियालाई संक्रमित गर्ने भाइरस (फंगस) सबैभन्दा महत्त्वपूर्ण हुन्छ । समुद्रमा ब्याक्टेरियाको संख्यालाई नियन्त्रण गर्न फंगसको अहम भूमिका हुने हुँदा भाइरस हराएमा समुद्रको सन्तुलन बिग्रने टोनी गोल्डबर्ग बताउँछन् ।

समुद्रका ९० प्रतिशत जीवले पृथ्वीमा चाहिने आधा अक्सिजन निर्माण गर्छन् । समुद्रमा पाइने भाइरसले त्यहाँको ब्याक्टेरिया र २० प्रतिशत माइक्रोब्सलाई हरेक दिन नष्ट गर्छ जसले समुद्रमा रहेका कयौँ वनस्पतिलाई खुराक प्राप्त हुन्छ ।

फाटोसिन्थेसिस गरेर बनेको अक्सिजनले पृथ्वीमा जीवन चल्छ । भाइरस नभएको खण्डमा समुद्रमा अक्सिजन निर्माण हुन सक्दैन र, पृथ्वीमा जीवन चल्न सक्दैन ।

कर्टिस सटलका अनुसार जीवन पृथ्वीमा रहेको तत्त्वको रिसाइक्लिङमा निर्भर हुने हुँदा मृत्यु भएन भने जीवनको सम्भावना पनि हुँदैन । यो काम पनि भाइरसले गर्छ । केही जीवको अस्तित्व पनि भाइरसमा निर्भर हुन्छ ।

गाईमा भएको भाइरसले घासको सेल्युलोजलाई चिनीमा परिणत गर्छ । जुन गाईको शरीरमा मांसपेशी वृद्धि गर्न र दूध बनाउने स्रोत बन्छ । मानिस र अन्य जीवको शरीरमा भाइरसको संख्यालाई नियन्त्रण गर्न पनि भाइरसको ठूलो योगदान हुन्छ ।

भाइरस नभए पृथ्वीमा जीवहरूको जनसंख्या नियन्त्रणभन्दा बाहिर जान्छ । रुसिंक र उनको टोलीले अध्ययनबाट घाँसले भयंकर गर्मीलाई पनि सहन सक्ने पत्ता लागेको थियो ।

कयौँ भाइरसको संक्रमणले मानिसहरूलाई धेरै प्रकारको रोग लाग्नबाट बचाउँछ । हर्पीज भाइरसले मानिसहरूलाई प्लेग र लिस्टेरिया नामको बिरामीबाट बचाउँछ । ब्याक्टेरिया, एन्टी बायोटिकबाट इम्युन भइरहेका कारण एन्टी बायोटिकको विकल्पमा भाइरसले यो काम गर्न सक्ने देखिएको छ । भाइरस, रोग फैलाउने ब्याक्टेरिया वा क्यान्सरको कोशिकालाई खत्तम गर्न काम आउन सक्छ ।

पृथ्वीमा भाइरसले विभिन्न भूमिका निभाउँछन् । धेरै वैज्ञानिकहरू फेरि भाइरसको बारेमा रिसर्च गर्न सुरु गरिरहेका छन् । –बीबीसी हिन्दीबाट

Loading...