मोन्टेपिलरसँग लियोन पराजित

एजेन्सी, ३१ भदौ । फ्रेन्च लिग वानमा लियोन पराजित भएको छ । मंगलबार राति भएको खेलमा लियोन मोन्टेपिलरसँग २–१ गोलले पराजित भएको हो ।

मोन्टेपिलरको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन तेइज साभानियरले दुई गोल गरे । लियोनलका कप्तान मेम्फिस डिपेले एक गोल फर्काए ।

खेलको ३८औं मिनेटमा मोन्टेपिलरले साभानियरको गोलमा सुरुआती अग्रता बनाएको थियो । उनले पेनाल्टीमा गोल गर्दै पहिलो हाफभरि १–० गोलको अग्रता बनाए । ४४औं मिनेटमा हौसेम औअरले रातो कार्ड पाएपछि लियोन १० खेलाडीमा सीमित बनेको थियो ।

खेलको ५९औं मिनेटमा साभानियरले दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

८१औं मिनेटमा भिक्टारिनो हिल्टनले रातो कार्ड पाएपछि घरेलु टोली पनि १० खेलाडीमा सीमित बन्यो । र, सोही समय लियोनले पेनाल्टीको मौका पायो ।

जसमा कप्तान डिपेले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समयमा गोल हुन नसक्दा लियोन पराजित बन्यो ।

यससँगै ३ खेल खेलेको मोन्टेपिलरले ६ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । समान खेल खेलेको लियोन भने ४ अंकसहित ११औं स्थानमा छ ।

Loading...