असोज १ देखि होटल व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडाैं, ३० भदाै । सरकारले स्वास्थ्यका मापदण्ड पूरा गरी यही असोज १ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको स्वास्थ्यका मापदण्ड पूरा गरी होटल, रेण्टुरेन्ट, पदयात्रा र ट्राभल व्यवसाय सञ्चालन गर्न सकिने बताए ।

उनीहरूले स्वास्थ्य तथा सुरक्षाको पालना गरेनगरेको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।

यस्तै नेपालमा सञ्चालित विभिन्न विकास आयोजनामा प्राविधिक जनशक्ति विदेशबाट ल्याउनका लागि अनुमति खुला गरिएको छ । त्यसका लागि त्यस्ता जनशक्तिले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरिएको छ ।

यस्तै विद्यालयमा विद्यार्थी उपस्थित गराएर कक्षा सञ्चालन गर्न नसकिने अवस्थामा दूर र वैकल्पिक शिक्षाका माध्यमबाट शिक्षण र सिकाइलाई निरन्तरता दिने निर्णयसमेत गरिएको छ ।

सरकारले शैक्षिक संस्था, परीक्षा, सेमिनार, गोष्ठी, सिनेमा हल, डान्सबार, सैलुन, स्विमिङ पुल, समूहमा खेलिने खेल, धार्मिक तथा सामाजिकस्थल, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना जस्ता बढी भीड हुने क्षेत्र भने अझै बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले बताए ।

अर्को निर्णय गरेपछि मात्र यी क्षेत्र खुला गरिने छ । हिमाल र पदयात्रा प्रयोजनका लागि नेपाल आउने पर्यटकका लागि आगामी कात्तिक १ गतेदेखि खुला गरिएको छ ।

त्यसका लागि ७२ घण्टाअघिको पिसिआर नेगेटिभ रिपोर्ट चाहिने जनाइएको छ ।

Loading...