आन्तरिक उडान र हाेटल बिहीबारबाट खुला, शैक्षिक संस्था तत्काल नखुल्ने

विराटनगर, ३० भदौ । सरकारले बिहीबारबाट आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । ११ चैतबाट बन्द रहेको आन्तरिक उडान र लामो दुरीका सवारी बिहीबारबाट सञ्चालनमा खुला गर्ने निर्णय भएको हो ।

आन्तरिक उडान र लामो दुरीका सवारीसँगै असोज १ बाट होटल, रेष्टुरेण्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ । तर हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने निर्णय भएको छ ।

५० प्रतिशत मात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ सिटमा १ जना मात्रै राख्न पाइने, स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ ।

अन्तर्राष्ट्रिय सीमानाकाबाट ३० असोजसम्म बन्द रहनेछ । यद्यपी दार्चुलाको खलंगा पुलघाट र इलामको पशुपतिनगर नाका आवश्यकता अनुसार खुला गर्न सकिनेछ ।

चीन तर्फको रसुवागढी नाकाबाट पनि समस्यामा परेकाहरुलाई आउन दिने निर्णय सरकारले गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यता अनुसार अन्तर्राष्ट्रिय नियमित र चार्टर्ड उडान पनि थप्न पाउने निर्णय भएको छ । त्यसका लागि ७२ घण्टा पहिले पीसीआर परीक्षण गरेको र रिपोर्ट नेगेटिभ हुनुपर्ने छ ।

शैक्षिक संस्था, परीक्षा सञ्चालन, सभा सम्मेलन गोष्टी, प्रदर्शन भेला भने अर्को निर्णय नभएसम्म गर्न नपाइने उनले बताए । सैलुन, ब्युटीपार्लर, स्वीमिङ पुल, सिनेमा हल, डान्सबार पनि तत्काल नखुल्ने प्रवक्ता ज्ञवालीले बताए ।

Loading...