अबिरल वर्षाका कारण महानगरका विभिन्न क्षेत्र डुबानमा (फोटो फिचर)

विराटनगर, ३० भदौ । गए रातिदेखि भएको अबिरल वर्षा कारण प्रदेश नं १ राजधानी विराटनगरको विभिन्न वडा डुबानमा परेका छन् ।

मेघ गर्जनसहित भएको भारी वर्षातका कारण विराटनगर महानगरपालिकाको वडा नं ५, ८, ११, १२, १३ र १५ का विभिन्न स्थान डुबानमा परेका हुन् । लगातार परेको पानीका कारण महानगरका विभिन्न स्थान डुबानमा परेका छन् भने सयौं सर्वसाधारणहरुको घरभित्र पानी पसेको छ ।

घर–घरमा पानी पस्नुको अलवा मानिस हिँड्डुल र सवारीसाधनको आवतजावतमा नै समस्या हुनेगरी पानी सडकमाथि हुँदै बगिरहेको छ ।

पानी निकास हुने व्यवस्था राम्रो नभएको कारण महानगर क्षेत्रमा वर्षात हुन साथ हरेक वर्ष डुुबानको समस्या देखिने गरेको छ । डुबानका कारण कुनै पनि मानवीय र धनजनको क्षति नभए पनि प्रत्येक वर्षायाममा महानगर क्षेत्रका बासिन्दाले बाढी र डुबानको समस्या भोग्दै आइरहनुपरेको छ ।

आफूहरूले बर्सेनि डुबानको समस्या भोग्नु परे पनि समस्या समाधान हुनेगरी कुनै पनि ठोस कदम नचालिएको स्थानीयहरूको गुनासो छ ।

लगातारको वर्षापछि आएको बाढीका कारण गत साउनमा मात्र महानगरको ब्रह्मापुर, रामपुर, बखरीलगायत क्षेत्र डुबानमा परेका थिए भने सयौं मानिस विस्थापित भएका थिए ।

Loading...