Rumpum

Rumpum Advertisement

नेयमारलाई पीएसजीको दरिलो साथ

नेयमारलाई पीएसजीको दरिलो साथ

एजेन्सी, ३० भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फरवार्ड नेयमारले आफूमाथि जातीय विभेद भएको आरोप लगाएका थिए । लिग वानअन्तर्गत आइतबार राति भएको मार्सेलीविरुद्धको खेलमा विपक्षी खेलाडीले आफूमाथि जातीय टिप्पणी गरेको ब्राजिलियन स्टार नेयमारको आरोप छ ।

पीएसजीको मैदानमा भएको खेलमा घरेलु टोलीका तीन र मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए । पाहुना टोली मार्सेलीले १–० गोलको जित निकालेको थियो । मार्सेलीलाई जिताउन फ्लोरियन थाउभिनले निर्णायक गोल गरेका थिए ।

खेलको अन्तिम समयमा दुई पक्षका खेलाडीबीच झडप भएको थियो । जसमा पीएसजीका नेयमार, लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सेलीका जोर्डन अमावी र डेरियो बेनेडेटोलाई मैदानबाहिर पठाइएको थियो ।

करिब पाँच हजार दर्शकमाझ भएको सो खेल अवधिभर १७ वटा कार्ड रेफ्रीले देखाएका थिए । लिग वानको खेलमा यो कीर्तिमानी कार्ड संख्या हो ।

खेलको अन्त्यमा नेयमारलाई रेफ्रीले भीएआरको सहायतामा रातो कार्ड दिएका थिए । ब्राजिलियन स्टारले मार्सेलीका अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएको पाइएपछि रेफ्रीले उनलाई मैदानबाहिर पठाएका थिए ।

सो खेलमा नेयमारले आफूमाथि जातीय टिप्पणी गरिएका कारण हात उठाएको जनाएका छन् । सामाजिक सञ्जालमा नेयमारले आफूमाथि जातीय टिप्पणी गरेको बताएका थिए । ‘उनले मलाई बाँदरको छोरा भनेपछि मैले झापड हानेको हुँ । मलाई यो कुराको पछुतो छ कि मैले किन उनको अनुहारमा हिर्काइनँ ।’

यता, गोन्जालेजले भने जातीय टिप्पणी नभएको बताएका छन् । ट्वीटरमा उनले लेखेका छन्, ‘यहाँ जातीयताको कुनै ठाउँ नै छैन । यहाँ हाम्रो स्ष्ट जित छ । कहिलेकाहिँ तपाईंले मैदानमा हार्न सिक्नुपर्छ । हामीले अविश्वनीय ३ अंक बटुलेका छौं । धन्यवाद सबैमा ।’

गोन्जालेजको जवाफमा नेयमार पुनः जातीय टिप्पणी भएको दाबी गरेका छन् । ‘तिमी गल्ती स्वीकार्ने मान्छे होइनौ । हार खेलको एक पाटो हो । कसैको अपमान गर्नु र जातीयवादलाई हाम्रो जीवनमा ल्याउने कुरामा म सहमत छैन । तिमीप्रति मेरो सम्मान छैन । तिम्रो व्यवहार ठीक छैन ।’

मार्सेलीले पनि सो खेलमा कुनै जातीय विभेद नभएको उल्लेख गर्दै गोन्जालेज त्यस्ता खेलाडी नभएको बताएको छ । यस्तै पीएसजीले पनि आफ्ना स्टार नेयमारलाई दरिलो साथ दिएको छ ।

जातीय विभेदको समाज र फुटबलमा कुनै स्थान नरहने बताउँदै पीएसजीले भनेको छ, ‘एलएफपीको अनुशासन आयोग तथ्यको जाँच र पत्ता लगाउनका लागि तयार छ । क्लब कुनैपनि सहयोगका लागि तयारी अवस्थामा छ ।’

एलएफपीका अनुशासन समितिको बैठक बुधबार बस्ने बताइएको छ । समितिले सबै ५ रातो कार्डको अनुसन्धान गर्दै अधिकारीको रिपोर्टअनुसार थप कारवाहीको विषयमा निर्णय लिनेछ ।