मञ्च नहुँदा निसास्सिए कलाकार, विकल्प खोज्दै

यज्ञ अधिकारी
रंगेली, ३० भदौ । ‘पेटदेखि निसास्सिएर घाँटीसम्म आइसक्यो । नाकसम्म आइपुग्दा के हुने हो ?’ कोरोना महामारीका कारण रंगमञ्च सुनसान हुँदा आरोहण गुरुकुल सुशीला कोइराला नाटघरका अध्यक्ष भैरव क्षत्रीको उकुसमुकुस हो यो ।

रंगमञ्च उक्लने सम्भावना लम्बिँदै गएपछि कलाकार पनि हातमुख जोर्न अन्य विकल्प थालेका छन् । कोभिड–१९ को कारण रंगमञ्चमा आश्रित कलाकार छरपस्ट भएको नाट्यकर्मी तथा साहित्यकार भरत गुरागाईंले बताए । उनी झोराहाट नाटकघरमार्फत सक्रिय छन् ।

महामारीको कारण कलाकारहरू आ–आफ्नो घरमा विकल्पको खोजीमा रहेको उनले बताए । गुरागाईं स्वयमले नयाँ व्यवसाय कृषि कर्म सुरु गरेका छन् । रंगमञ्चका कलाकार निम्न मध्यम वर्गको हुने भएकोले लामो समयको लकडाउनले दैनिकीमै असर पर्ने उनले बताए ।

महामारीका कारण कलाकारलाई वैकल्पिक उपाय खोज्नुपर्ने अवस्थामा पुर्‍याएको उनको अनुभव छ । यसले कलाकार विस्तापित हुने सम्भावनालाई बढाएको छ । केही कलाकार भने यसै क्षेत्रमा निरन्तरता दिन राम्रो दिनको प्रतीक्षामा रहेको उनले बताए । थोरै कलाकार भेला भएर छलफल गर्ने गरेको उनले बताए ।

कोभिड–१९ को प्रभावबाट कुनै क्षेत्र अछुतो छैन । दर्शक भेला गरेर मञ्चन गरिने रंगमञ्च अछुतो नहुने कुरै भएन । रंगमञ्च सञ्चालनमा आउन अझै समय लाग्ने देखिन्छ । अन्य क्षेत्रमा केही खुकुलो पार्दै लगेको भएपनि सिनेमा हल र रंगमञ्चलाई सरकारले नखोल्ने भनेको छ ।

रंगमञ्चमा आश्रित कलाकारहरू अहिले ऐंचोपैंचो गरेर जिन्दगी चलाइरहेको आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री बताउँछन् । एक्लो हुनेलाई दुःखसुख चलेपनि परिवार भएका कलाकारलाई धेरै समस्या परेको उनले बताए ।

रंगकर्मीहरूलाई आफ्नो व्यथा सुनाउनलाई अहिले ठाउँसमेत नभएको उनी बताउँछन् । ‘अहिले दर्शक भेला गराउने अवस्था छैन । आफ्नो पीडा पोख्ने ठाउँ पनि छैन,’ उनले भने, ‘बेहाल भएको छ ।’ तत्काल आफ्नो पेसा परिवर्तन सकिने अवस्था पनि नभएको उनले बताए ।

महामारीको कारण नयाँ काम थाल्न पनि समस्या हुने उनले सुनाए । नाटकघरमा जोडिएकाहरू आफ्नो सीपअनुसारको काम गरिरहेको उनले बताए । उनले भने, ‘कोही लेख्ने, कोही बनाउने काम गरिरहेका छन् ।’ नाटकघरको अभिलेखको काम पनि गरिरहेको उनले बताए ।

कोभिडको कहर एकदिन पूरै हटेर जानेमा आशावादी छन्, कलाकार उद्धव सापकोटा । सधैँ कोरोना कहर नरहने भएकोले विचलित नहुन उनले आग्रह गरे ।

‘नाटक जीव जस्तै हो, रंगकर्मीले सबै काम गर्नुपर्छ भन्ने प्रशिक्षणकालदेखि सिक्दै र भोग्दै आएकोले अहिले खासै अफ्ठ्यारो परेको छैन, ’ सापकोटाले भने । उनका अनुसार रगमञ्चमा नाम भएपनि खासै दाम नहुने भएकाले यो क्षेत्रका कलाकार विकल्प खोज्नुपर्नेमा जानकार छन् ।

Loading...