विराटनगरमा घरमै बसेर ३४० जनाले जिते कोरोना

विराटनगर, ३० भदौ । विराटनगर महानगरपालिकामा घरमै बसेर ३४० जनाले कोरोना जितेका छन् ।

समुदायस्तरमा संक्रमण देखिएको विराटनगर महानगरपालिकाभित्र कोरोना संक्रमण भएर घरमै बसेका एक हजार १२ जनामध्ये ३४० जना संक्रमणमुक्त भएका हुन् ।

विराटनगर महानगरपालिकाको तथ्यांकअनुसार सोमबारसम्म एक हजार १२ जना कोरोना संक्रमण भएर घर बसेका छन् । महानगरभित्र आइसोलेशन अभावका कारण संक्रमित घरमै बसेका हुन् । घरमै बस्नेमध्ये ४ सय ३० जना महिला र ५ सय ८२ जना पुरुष छन् ।

घरमा बसेर सोमबारसम्म भाइरसको संक्रमणबाट १ सय २५ महिला र २ सय १५ पुरुष मुक्त भएका हुन् ।

घरमै स्वास्थ्यलाभ गरिरहेका संक्रमित विराटनगर महानगरमा ६ सय ७२ जना रहेका छन् । यसमा ३ सय ५ महिला र ३ सय ३ सय ६७ पुरुष छन् ।

विराटनगर महानगरपालिका सोमबारसम्म एक हजार चारसय ८६ जना कोरोना संक्रमित छन् । संक्रमितमध्ये १८ जनाको मृत्यु भइसकेको छ ।

Loading...