फ्रन्टलाइनर नर्स : सीमित सतर्कताका सामाग्री, आत्मबल उच्च

विराटनगर, २९ भदौ । रेशीका चौधरी पेसाले नर्स हुन् । उनी सञ्जीवनी अस्पतालको एनआईसीयू विभागमा काम गर्छिन् ।

नवजात शिशुमा संक्रमण देखिने सम्भावना कम हुन्छ । उनी सामान्य गाउन, क्याप, मास्क र पञ्जा लगाएर काम गर्छिन् ।

फ्रन्टलाइनर भएर काम गर्न जोखिम भएपनि आत्मबल उच्च बनाएर काम गरिरहेको उनले बताइन् । ‘संक्रमण देखिएपनि निको हुनेहरूको संख्या धेरै छ,’ उनले भनिन्, ‘जोखिम भएपनि पहिले जस्तो मनमा डर छैन ।’ उनी मौका मिले कोरोना संक्रमितको उपचारमा खटिन तयार रहेको बताउँछिन् ।

अञ्जना उप्रेती विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आईसीयू विभागमा काम गर्छिन् । काम गर्न पहिलेको भन्दा गाह्रो हुँदै गएको उनको अनुभव छ ।

‘आईसियुमा कोरोनाका आशंका गरिएका बिरामी धेरै आउँछन्,’ उनी भन्छिन्, ‘धेरैको पीसीआर रिपोर्ट पोजिटिभ आउँछ, कोहीको रिपोर्ट नआउँदै मृत्यु पनि हुन्छ ।’

ड्युटीमा सतर्कताका सामग्री लगाएर काम गरिरहेको उनले बताइन् । ‘ड्युटीको समयमा सावधानीका लागि पीपीई, मास्क, पञ्जा सबै प्रयोग गरिरहेको छु,’ उनी भन्छिन्, ‘कहिलेकाहिँ ८ घण्टाको ड्युटीमा ८ घण्टा नै पीपीई लगाउनुपर्छ, पीपीई लगाइसकेपछि खान र ट्वाइलेट जान धेरै गाह्रो हुन्छ ।’

आफूमा भएको आत्मविश्वास र अरुबाट पाएको हौसलाले १ असोजबाट कोरोना संक्रमितको उपचारमा खटिने उनले बताइन् ।

रुबी चौधरी विरानगरको नोबेल शिक्षण अस्पतालमा काम गर्छिन् । फ्रन्टलाइनर चौधरी आफूलाई संक्रमण हुने डरभन्दा पनि परिवारको सदस्यलाई सर्छ कि भन्ने डर रहेको बताउँछिन् ।

उनलाई अस्पतालले एकसरो सुरक्षा सामग्री दिएको छ । ‘अस्पतालले पीपीई, जुत्ताको कभर, क्याप, गाउन, मास्क र पञ्जा दिएको छ,’ उनने भनिन्, ‘मास्क अभाव हुँदा एउटैलाई धेरै पटकसमेत प्रयोग गर्नुपर्छ ।’

सावधानीका लागि अपरेसन गर्दा मास्क, फेस शिल्ड, पीपीई गाउनलगायत सर्तकताका सामग्री प्रयोग गर्ने उनले बताइन् ।

न्यूरो कार्डियो एण्ड मल्टी स्पेसालिटी हस्पिटलको कोभिड अस्पतालमा कार्यरत नर्स विनिता कोइराला संक्रमितको उपचारमा सावधानीका साथ खटिएको अनुभव सुनाउँछिन् ।

‘कोरोना संक्रमितकै प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने भएकोले संक्रमण सर्ने जोखिम त छँदै छ ’ उनले भनिन्, ‘अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरू नै डराए कोभिडलाई हटाउन सकिँदैन, त्यसैले आत्मबल दह्रो बनाएर संक्रमितको उपचारमा खटिएको छु ।’

अस्पताल प्रशासनले पीपीई सेट, फेस शिल्ड, मास्क, चस्मा, पञ्जालगायत सावधानीका लागि चाहिने सामाग्री उपलब्ध गराएका कारण काम गर्न सहज भएको उनले बताइन् ।

‘सबै सावधानीका साथ मात्र कोभिडको बिरामी भएको ठाउँमा जान्छौं,’ उनले भनिन् ‘थप सावधानीका लागि ड्युटीको समयमा हरेक बिरामीहरूलाई हेरेपछि पञ्जा चेन्ज गर्ने, पटक-पटक स्यानिटाइजरको प्रयोग गर्छौं ।’

अस्पतालमा आउने संक्रमित र शंकास्पदको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने भएकोले स्वास्थ्यकर्मी संक्रमणको उच्च जोखिममा छन् । तर अस्पतालहरूले फ्रन्टलाइनरलाई प्रोत्साहन गरेका छैनन् ।

अस्पतालबाट सुरक्षा सामाग्री नपाउँदा केही दिनअघि नोबेल मेडिकल कलेजका ५५ जना स्वास्थ्यकर्मीले राजीनामा दिएका थिए ।

अस्पतालले माग सम्बोधन गर्ने बताएपछि उनीहरू काममा फर्किएका थिए । संक्रमणको जोखिम उच्च भएको अवस्थामा सीमित सतर्कताका सामाग्री र न्यून पारिश्रमिकमा काम गर्नुपरेको नर्सहरू बताउँछन् ।

Loading...