Rumpum Advertisement

‘क्षमताले भ्याएसम्म गरिरहेका छौं, प्रदेश र संघले बोलेको सुन्दैनन्’

‘क्षमताले भ्याएसम्म गरिरहेका छौं, प्रदेश र संघले बोलेको सुन्दैनन्’

भीम पराजुली, मेयर, विराटनगर महानगरपालिका

कोरोना महामारीको केन्द्र बनेको विराटनगरमा संक्रमण नियन्त्रणमा आउँदैछ । समुदायस्तरमा संक्रमण देखिएपनि हिजोको जस्तो भयावह अवस्था छैन । संक्रमणको ‘चेनब्रेक’ हुने क्रममा छ । हामीले संक्रमणको चेनब्रेक गर्ने गरी काम गरिरहेका छौं ।

संक्रमण भयावह बन्दा हिजो विराटनगरमा लकडाउन र निषेधाज्ञा जारी गरिएको थियो । चेनब्रेक हुने क्रममा रहेकाले निषेधाज्ञा हटाइएको छ । निषेधाज्ञा हटेपछि सर्वसाधारणको बजारमा चहल पहल बढेको छ । चहलपहलले गर्दा फेरि संक्रमण फैलने जोखिम पनि छ ।

भीम पराजुली, मेयर, विराटनगर महानगरपालिका

महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि संक्रमितको व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङको काम तीब्र बनाएको छ । शंकास्पद स्थानमा स्वाब संकलन गरेर जाँच गरिरहेका छौं ।

पीसीआर मेसिन र आरएनए एक्ट्रक्सान मेसिन थप गरेका छौं । मेसिन थपिएपछि विराटनगरमा रिपोर्ट ढिलो आउने समस्या हटेको छ ।

परीक्षणको दायरा पनि बढाएका छौं । तर पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङमा परेका मानिसहरू पीसीआर जाँच गर्न मानिरहेका छैनन् । लक्षण देखिएपछि मात्रै पीसीआर जाँच गर्छाैं भन्ने मानिसको जमात पनि छ ।

संक्रमितको व्यवस्थापनका लागि महानगर आफैंले तीन वटा होल्डिङ आइसोलेशन सञ्चालन गरिरहेको छ । शंकास्पदहरूलाई राख्न क्वारेन्टाइन पनि सञ्चालनमा छन् । महानगरको पहलमा होटल आइसोलेशन र दुई वटा निजी अस्पतालले आइसोलेशन सञ्चालनमा ल्याएका छन् ।
महानगरकै अगुवाईमा कोशी अस्पतालमा नयाँ पीसीआर मेसिन थपिएका हो ।

संक्रमण नियन्त्रणका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक छ । तर हिजोका दिनमा संघीय र प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेन । राहत वितरणदेखि महामारी फैलँदा कन्ट्याक्ट ट्रेसिङ र कोरोना जाँचमा महानगरलाई असहयोग भएको हो ।

हामीले पटक-पटक आवाज उठाएका थियौं । पछिल्लो समय समन्वय भइरहेको छ । कोरोना संक्रमण नियन्त्रणमा तीनै तहको प्रभावकारी समन्वय आवश्यक छ । एकले अर्कालाई असहयोग गर्ने हो भने प्रभावकारी काम गर्न सक्दैनौं ।

हिजो सहयोग नहुँदा धेरै बोलियो । तर बोलेका कुराहरू सम्बोधन भएन । अहिले पनि बोलिरहेका छौं । अब धेरै नबोल्ने महानगरको क्षमताले भ्याएसम्म काम गर्ने याेजना छ ।

भारतमा संक्रमण भयावह छ । तर हामीले नाका टाइट गर्न सकेका छैनौं । विराटनगरमा संक्रमणको चेनब्रेक हुने क्रममा छ । भारतबाट हुने सहज आवात-जावतले फेरि भयावह अवस्था निम्त्याउन सक्छ । नाका बन्द भएपनि कडाइ गरिएको छैन । वारि-पारि सहजै मानिस आवात-जावत गर्छन् । आईसीपीबाट पनि संक्रमण भित्रने जोखिम छ ।

नाकामा टाइट नगर्ने हो भने विराटनगरमा मात्र होइन सीमावर्ती सहरमा कोरोना नियन्त्रणमा आउन गाह्रो छ । नाकाको सुरक्षाका लागि सेना परिचालन गरौं भनेर बोलिरहेका छौं । सेना परिचालन गर्ने जिम्मा संघीय सरकारको हो । तर संघीय सरकारले सुनेको छैन । आईसीपीबाट जोखिम कम गर्न सतर्कता अपनाउन आग्रह गर्दा पनि संघीय सरकारले सुनेन् ।

खुला सीमा कडाइ नगर्ने हो भने विराटनगरमा अहिले नै कोरोना संक्रमण नियन्त्रणमा आउँदैन । आईसीपीबाट पनि कोरोना संक्रमण भित्रने जाेखिम उच्च छ । पछिल्लो समय बजार पनि खुलेको छन् । बजार खुलेका कारण जोखिम झन् बढेर गएको छ । नगरबासीले सतर्कता नअपनाउने हो भने अवस्था भयावह हुनसक्छ ।
(कुराकानीमा आधारित)