पहिरोबाट सिन्धुपाल्चोकमा मात्रै ७४ को मृत्यु, ४१ अझै बेपत्ता

सिन्धुपाल्चोक, ३० भदौ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ४१ बेपत्ता छन् ।

आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई बगाएको थियो भने एक जना अहिलेसम्म बेपत्ता छन् । यस्तै असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्यायो ।

बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी गएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ हालसम्म पनि हराइरहेका छन् । त्यस्तै सोही दिन भोटेकोशी गाउँपालिका–४ बुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो । यसैगरी साउन १ गते भोटेकोशी गाउँपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुर्यो । लामो प्रयासपछि मात्र शव फेला परेको थियो ।

गत साउन १९ गते राति परेको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा नौ कामदारले ज्यान गुमाउनपर्यो । यस्तै मेलम्ची खानेपानीको गेट फुटलाखोलाको बेगले दुई जनालाई बगाएको थियो । तीमध्ये एक जना हालसम्म पनि हराइरेहका छन् । एक जनाको तत्काल उद्धार गरिएको थियो ।

यस्तै सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक दम्पतीले पहिरोमा परी ज्यान गुमाए । साउन ३० गते सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् । सो पहिरोमा हालसम्म पनि दुई जना हराइरहेका छन् ।

पहिरोमा परी जिल्लाभर १३० घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाउँपालिकामा २०, जुगल गाउँपालिकामा २९ र सुनकोशी गाउँपालिकामा चार घर पहिरोले पूर्णरूपमा क्षति भएका हुन् । यस्तै बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन् ।

पहिरोका कारण सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको एक हजार ४४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको ढकालले बताए । यस्तै भोटेकोशीमा ८७५, जुगल गाउँपालिकामा ४०८, मेलम्ची नगरपालिकामा १४३, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६, हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाउँपालिकामा ८४, लिसङ्खुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने प्रजिअ ढकालले बताए ।

जिल्लामा हालसम्म पहिरोका कारण मृतक परिवारलाई एकमुष्ट रु १० लाख, पहिरोले आवासविहीन बनाएका परिवारलाई रु ११ लाख ८५ हजार र पहिरोपीडितलाई रु १० लाख नौ हजार राहत वितरणसमेत गरिसकिएको जानकारी ढकालले दिए ।

आफूखुशी राहत नबाँड्न सार्वजनिक अपिल

घुम्थाङ भिरखर्क–नागपुजे पहिरोपीडितका लागि दाताहरुले राहत लिएर आउने क्रम शुरु भएपछि बाह्रबिसे नगरपालिकाले विषम परिस्थितिको ख्याल गर्दै भीड जम्मा गरेर आफूखुशी राहत नबाँड्न सार्वजनिक अपिल गरेको छ ।

कोरोना महामारीमा स्वास्थ्य सुरक्षाको ख्याल गर्दै एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भन्दै बाह्रबिसे नगरपालिकाले दाताहरुलाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेको हो । कोरोना भाइरसको जोखिमका कारण भीडभाड गर्न नहुने, भौतिक दूरी कायम गर्नुपर्नेजस्ता स्वास्थ्य मापदण्ड पालना गरेर पहिरोपीडितलाई नगरपालिकाले राहत उपलब्ध गराउने बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । “पीडितको घाउमा राहतको मलमपट्टी लिएर आउनुहुने दातालाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेका हौँ”, प्रमुख शेर्पाले भने ।

एकद्वार प्रणालीमा पहिरोपीडितका आश्रयस्थलमा राहत पुर्याउने नीतिअनुरुप समन्वयका लागि दाताहरुलाई आग्रह गरिएको उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन् । “परिस्थिति अलि जटिल छ, राहत सामग्रीसँगै पहिरोपीडितका बस्तीमा कोरोना भाइरसले प्रवेश नगरोस् भनेर समन्वयका लागि अपिल गरिएको हो”, पाख्रिनले भनिन् ।

बाह्रबिसे नगरपालिकाले आइतबार साँझ नै पीडितको अस्थायी बासका लागि ४५ थान टेन्ट नागपुजे पुर्याएको छ । पीडित विस्थापितलाई टेन्टमा राखिएको छ । रासस

Loading...