विराटनगरमा पैसा तिरेर कोरोना जाँच गर्ने साढे १४ सय

विराटनगर, २९ भदौ । विराटनगरको कोशी अस्पतालमा १४ सयभन्दा बढीले पीसीआर जाँच गराएका छन् । पछिल्लो दुई महिनामा १४ सय ६१ जनाले पीसीआर जाँच गराएका हुन् । कोशी अस्पतालले ३० असारबाट स–शुल्क पीसीआर जाँच सुरु गरेको थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार २८ भदौसम्म १ हजार ४६१ जनाले पीसीआर जाँच गरेका छन् । विराटनगर कोरोनाको ‘हटस्पट’ भए पनि प्रयोगशालामा स–शुल्क पीसीआर परिक्षण गराउन दैनिक १०–१५ जना मात्र रहेको मेसु दासले बताए ।

संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएका अधिकाशं मानिसले स्वाब संकलन केन्द्रमा निःशुल्क स्वाब दिने भएकाले शुल्क तिरेर पीसीआर परीक्षण गराउन मानिस नआउने गरेको मेसु दासले बताए ।

‘विदेश जाने, काठमाडौं उपत्यका जान चाहने र निजी अस्पतालमा भर्ना हुन चाहने मानिसहरू मात्र कोशी अस्पतालमा स्वाब दिन आइरहनु भएको छ,’ दासले भने, ‘निजी संस्थाका कर्मचारीहरू पनि परीक्षणका लागि आइरहनु भएको छ ।’

नेपाल सरकारले आजबाट लागू हुनेगरी परीक्षणको रकम घटाएसँगै अस्पतालमा पीसीआर परीक्षणका लागि आउने मानिसको संख्यामा वृद्धि हुनसक्ने उनले बताए । ‘रेट आधा नै घटेको छ, अब भने स–शुल्क परीक्षण गराउने मानिसको संख्यामा वृद्धि हुन सक्छ’, उनले भने, ‘संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङमा नपरेका, लक्षण पनि नदेखिएका तर आफूलाई कोरोना भएको शंका लाग्ने मानिसले समेत सस्तोमा परीक्षण गर्न पाउने भएकाले संख्या बढ्न सक्छ ।’

Loading...