काठमाडाैं, २९ भदाै । काठमाडौं उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङख्या १२ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताए ।
देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तिमध्ये १० हजार सङ्क्रमित काठमाडौं जिल्लाका रहेका छन् ।
काठमाडौं जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् । यस्तै ललितपुरमा एक हजार १९१ जनामा ५४१ महिला र ६५० पुरुष तथा भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन् ।
पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक ४०० को हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । आजैमात्र उपत्यकामा ५१२ जना सङ्क्रमित फेला परेका छन् ।
काठमाडौमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन् ।
१८ जिल्लामा एक हजार भन्दा बढी सङ्क्रमित
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका अनुसार एक हजारभन्दा बढी सङ्क्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन् । काठमाडौं जिल्लापछि पर्सामा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन् ।
पर्सामा दुई हजार ५४४, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार २६७, रौतहटमा दुई हजार ९, कैलालीमा एक हजार ९९०, धनुषामा एक हजार ९०३ र रुपन्देहीमा एक हजार ७८४ जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै बाँकेमा एक हजार ४५०, महोत्तरीमा एक हजार ४२३, चितवनमा एक हजार ३४४, सुनसरीमा एक हजार ३१६, कपिलवस्तुमा एक हजार २७७, बारामा एक हजार २३७, दैलेखमा एक हजार ९९ र डोटीमा एक हजार २० जना रहेका छन् ।
नेपालमा अहिलेसम्म कुल ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन् ।