वैकल्पिक माध्यमबाट पढाइ : मन्त्री घिमिरे

विराटनगर, २९ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्ने सरकारको योजना रहेको बताएका छन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा सत्यनारायण माध्यमिक विद्यालय विराटनगरले सोमबार गरेको वेब छलफलमा कोभिड–१९ को कारण नियमित पठनपाठन हुन नसकेको बताए ।

बालबालिकालाई अन्यौलमा नपरी संयमित भएर अध्ययनमा केन्द्रित हुन र भविष्य निर्माणका लागि सही मार्ग रोज्न उनले आग्रह गरे । मन्त्री घिमिरेले अहिलेको पुुस्तालाई भाग्यमानी पुस्ताको संज्ञा दिए ।

उनले भने ‘सूचना प्रविधिको प्रयोग गरेर जीवनलाई सहज र कामलाई प्रभावकारी बनाउन सकिने अवस्था छ ।’

कार्यक्रममा विशेष अतिथि विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कोरोनालाई सामान्य रोग नठान्न र सावधानी अपनाउन सुझाव दिए ।

उनका अनुसार रोगको संक्रमण दर १८ वर्षभन्दा कम उमेरका बाालबालिकामा अतिन्यून रहेको अध्ययनबाट पाएको छ । पठनपाठन सञ्चालन गर्न उनको सुझाव छ ।

उनले विद्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नमा ध्यान दिन आवश्यक रहको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले मन्तव्य राखेका थिए ।

नेपालमा विश्वव्यापी बाल अधिकार महासन्धिलाई अनुमोदन गरेको दिन २०४७ भदौ २९ गतेको सम्झनामा हरेक वर्ष राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ ।

बाल अधिकार महासन्धिले सुनिश्चित गरेका बालबालिकाका अधिकारलाई व्यवहारमा लागू गराउनका लागि बालबालिकासम्बन्धी ऐन २०७५ लागू भइसकेको अवस्था छ ।

Loading...