बालबालिकामा यी लक्षण देखिए क्यान्सर हुन सक्छ

विराटनगर, २९ भदौ । नेपालमा बालबालिकाहरूमा सबैभन्दा बढी रगतको क्यान्सर लाग्ने गरेको पाइन्छ ।

रगतको क्यान्सरका साथै, बालबालिकाहरूलाई विभिन्न अंग र तन्तुहरू, स्नायु प्रणाली, मांसपेशी, मस्तिष्क, हड्डी तथा छालाको क्यान्सर हुने गर्छ । आमाबाबुबाट पाएको केही जीन परिवर्तनहरूको कारण केही बच्चाहरूमा कुनै विशेष प्रकारको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

धेरैजसो बालबालिकाहरूमा देखिने क्यान्सरहरूको मुख्य कारण भने कोषिकाहरू अचानक असामान्य परिवर्तन हुनुलाई मानिन्छ । क्यानसरका प्रारम्भिक लक्षणहरू प्रायजसो धेरै सामान्य बिमारी वा चोटपटकका कारण हुनेजस्तो देखिँदा बच्चाहरूमा क्यान्सर तत्काल चिन्न गाह्रो हुन सक्छ ।

बच्चाहरू प्रायः बिरामी हुन्छन् वा चोटहरू छन् भने यसले क्यान्सरको प्रारम्भिक लक्षणहरू भएको संकेत गर्छन् । बच्चाहरूमा क्यान्सर सामान्य हुँदैन, तर बच्चामा देखिएका तथा छिट्टै निको नभएका असामान्य संकेतहरू वा लक्षणहरू छन् भने डाक्टरकहाँ जान आवश्यक हुन्छ ।

बालबालिकामा शरीरमा मासु पलाएकोजस्तो देखिने, शरीर सेतो हुने, शरीरका विभिन्न ठाउँ दुख्ने, रातो दाग अथवा डाबर आउने, ज्वरो आउने, छिट्टै चोटपटक लाग्ने वा रगत बग्ने, तौल घट्दै जाने, अल्छी हुने, आँखाको दृष्टिमा परिवर्तन आउने, बान्ता हुने, टाउको दुख्ने, वान्ता आउने जस्ता क्यान्सरका लक्षणहरू देखिन थाल्छन् ।

चोटपटक वा संक्रमणलगायतका धेरैजसो यी लक्षणहरू क्यान्सरबाहेक अरू कुनै कारणले हुने सम्भावना बढी रहन्छ । यदि बच्चालाई यी लक्षणहरूमध्ये कुनै छ भने, डाक्टरसँग सल्लाह लिएर रोगको कारण जान्दा आवश्यक परेमा समयमा नै उपचार गर्न सकिन्छ ।

Loading...