विराटनगरमा निषेधाज्ञा हट्यो, बालबालिका र वृद्ध-वृद्धालाई हिँडडुल गर्न रोक

विराटनगर, २९ भदौ । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरसहित मोरङमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि मोरङमा जारी गरिएको निषेधाज्ञा १७ दिनपछि जिल्ला सुरक्षा समिति बैठकले हटाएको हो ।

समितिले ५ भदौबाट आंशिक र ११ भदौबाट जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि १६ र २२ भदौमा निषेधाज्ञा खुकुलो बनाउँदै थप गरिएको थियो । समितिले आइतबार राति १२ बजेबाट भने पूर्णरुपमा हटाएको हो ।

मोरङमा पछिल्लो पटक २२ भदौमा खुुकुलो प्रावधानसहित लगाइएको निषेधाज्ञाको समय आइतबार राति सकिनुअघि सुरक्षा समितिले निषेधाज्ञा हटाउने निर्णय लिएको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले सरकारले गरेका कडाइँका केही सीमा तथा सतर्कता र सजगतालाई कायम राखेर निषेधाज्ञा हटाइएको जानकारी दिए ।

‘सरकारले सञ्चालनमा रोक लगाएका क्षेत्रमा प्रतिबन्ध कायम रहन्छ,’ उनले भने, ‘खुल्ला रहने क्षेत्रमा पनि सुरक्षा सावधानी अपनाउनु पर्नेछ ।’

अनुगमनका लागि टोली खटाइएको र सुरक्षा सावधानी अपनाउने सवालमा नियमको उल्लंघन गरेको पाइएमा कारबाही गरिने जानकारी उनले दिए ।

सुरक्षा समितिले सरकारले तोकेको मापदण्ड पूरा गरेर बजार र पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने र औषधि पसलहरु नियमित सञ्चालन हुने निर्णय गरेको छ ।

सिटीसफारी जोरविजोर प्रणालीअनुसार यातायात मापदण्ड पालना गर्दै दुईजना मात्रै यात्रु राखेर सञ्चालन गर्न पाइने छ । सार्वजनिक यातायात बन्द छन् । निजी सवारीसाधन सञ्चालन हुन पाउने छन् ।

होटल तथा रेस्टुरेन्टबाट ‘होम डेलिभरी’को सुविधा दिए पनि भेटघाट र भेला–जम्मा हुन रोक लगाइएको छ ।

भेला–जम्मा भएर हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु, मेला, चाडपर्व, साप्ताहिक हाटबजार, महोत्सव, सभा–सम्मेलन तथा अन्य सामूहिक गतिविधिमा रोक लगाइएको जानकारी खड्काले दिए ।

जिल्लाभर राति ९ बजेबाट बिहान ५ बजेसम्म हिँडडुलमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको सहायक प्रजिअ खड्काले बताए ।

प्रशासनले अत्यावश्यक कामबाहेक १० वर्षसम्म र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई कुनै पनि काममा घर बाहिर आवतजावतमा रोक लगाइएको छ ।

सुरक्षा सावधानी नअपनाउने र सञ्चालनमा रोक लगाइएको क्षेत्र सञ्चालन गर्नेलाई भने संक्रामक रोग ऐन २०२० अनुसार कारवाही अघि बढाइने प्रशासनले जनाएको छ ।

मोरङमा हालसम्म कोरोना संक्रमित संख्या दुई हजार दुई सय १२ पुगेको छ । कोरोना संक्रमित २८ जनाको मृत्यु भइसकेको छ ।

Loading...