जुट निकासी छ अर्बमा सीमित, सुनसरी-मोरङ करिडोरका छ उद्योग बन्द

विराटनगर, २९ भदौ । जुट उद्योग भन्द भएका कारण भारत निकासी घट्न थालेको छ । सुनसरी मोरङमा ११ वटा जुट उद्योग छन् । तीमध्ये छवटा उद्योग बन्द छन् । सञ्चालनमा रहेका उद्योगको पनि उत्पादन घट्दा निकासी छ अर्बमा सीमित भएको हो ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेको जुट उद्योगहरुले वार्षिक ८० हजार मेट्रिक टन जुटका तयारी सामग्रीहरु उत्पादन गर्दै आएका छन् । तर पछिल्लो समय कोभिड १९ को महामारीका कारण उत्पादनमा ३० प्रतिशत गिरावट आएको छ । उत्पादन घट्दा निकासीमा प्रभाव परेको हो ।

नेपाल जुट मिल एसोसिएसनका अध्यक्ष राजकुमार गोल्छाले डेढ महिना लकडाउनमा उद्योग बन्द गर्नु परेको गुनासो गरे । लकडाउनपछि उद्योगको उत्पादन ७० प्रतिशतमा सीमित भएको उनले बताए । गोल्छाका अनुसार सबै जुट उद्योगहरुले दैनिक दुई सिफ्ट मात्रै सञ्चालन गरिरहेका छन् । यसअघि जुट उद्योगहरु तीन सिफ्ट सञ्चालन हुँदै आएका थिए ।

गोल्छा सञ्चालक रहेको अरिहन्त जुट मिल र रघुपति जुट मिलमा सात हजार मजदुरले सामान्य अवस्थामा काम गर्दै आएका थिए । दुई सिफ्टमा मात्र उद्योग चलिरहेकाले एक सिफ्टका दुई हजार तीन सय मजदुर बेरोजगार बनेका छन् । जसमा केहीले उद्योगमै आंशिक रोजगारी पाइरहेका छन् ।

भारतीय कच्चापदार्थमा निर्भर हुनु र भारतकै बजारमा प्रतिष्पर्धा गर्न नसकेर जुट उद्योगहरु बन्द हुने अवस्थामा पुगेको गोल्छाले बताए ।

एन्टी–डम्पिङले समस्या

भारतले नेपाली जुटको उत्पादनलाई चार प्रतिशत एन्टी–डम्पिङ शुल्क तोकेको छ । नेपाली जुटमा लाग्दै आएको चार प्रतिशत एन्टी–डम्पिङ शुल्क नहटाएका कारण नेपाली उत्पादनलाई प्रतिस्पर्धा गर्न गाह्रो भएको उनले बताए ।

नेपाल सरकारले भारत सरकारसँग कुटनीतिक पहल गरेर एन्टी–डम्पिङ हटाउने हो भने बन्द भएका उद्योगहरु पुन सञ्चालनमा आउन सक्ने सम्भावना रहेको उनले बताए ।

१० अर्ब घट्यो निकासी

११ वटा जुट उद्योग सञ्चालनमा हुँदा वार्षिक १६ अर्बको जुट भारत निकासी हुँदै आएको थियो । तर उद्योगहरु बन्द हुँदै गएका कारण वार्षिक छ अर्बको हाराहारीमा मात्रै तयारी जुटको निकासी हुन थालेको छ ।

नेपालमा जुट खेती खुम्चँदै जानु, कच्चा जुटको परनिर्भरता बढ्नु उद्योगहरु बन्द हुनुको कारण हो ।

भारतले लगाउने कर हट्न नसक्नु, नेपालभित्र नै खाद्यान्नलगायतको प्याकिङमा र निर्माणका क्षेत्रमा समेत जुटको प्रयोग अनिवार्य गर्न नसक्दा जुट उद्योगहरु धरासायी हँुदै गएको गोल्छाले बताए ।

नेपाल जुट मिल एसोसिएसनका उपाध्यक्ष रमेश राठीले लकडाउनको कारण उद्योग सञ्चालनमा निकै चुनौती रहेको बताए ।

उद्योगसम्म मजदुर आउनै मुस्किल भएकाले बताउँदै उनले उत्पादन घटेको बताए । घरबाट उद्योगसम्म मजदुर आउने वातावरण नहुँदा जुट उद्योगले आफ्नो उत्पादन एक सिफ्ट कटौती गर्नु परेको उनले बताए ।

उनको स्वामित्वमा रहेको बाबा जुटमिलमा दैनिक १००० मजदुर काम गर्छन् । लकडाउनका कारण उद्योगको उत्पादन दुई सिफ्टमा मात्र सीमित हुँदा करिब ७०० मजदुर मात्र कार्यरत रहेका छन् । एक सिफ्टका ३०० सय मजदुर घरमा नै छन् ।

सरकारले उद्योगलाई चाहिने कच्चापदार्थमा आत्मनिर्भर बनाउन जुट खेतीलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनु पर्ने राठीले बताए ।

रघुपति जुटमिलका प्रबन्धक श्याम आचार्यले भारतीय कामदार अहिले उद्योगमा नरहेको बताए । रघुपतिमा समान्य अवस्थामा तीन सिफ्ट उद्योग सञ्चालन हुँदा २५०० मजदुर काम गर्थे । अहिले दुई सिफ्टमा उद्योग चल्दा आठ सयभन्दा बढी मजदुर कामबाट बञ्चित भएका छन् ।

सरकारले हेरेन जुट उद्योग

जुट मिल एसोसिएसनले समेत प्रदेश र केन्द्रीय सरकारलाई जुट खेती बढाउन कार्यक्रम ल्याउन आग्रह गरे पनि त्यसमा ठोस काम हुन सकेको छैन ।

अन्य खेतीलाई प्रोत्सहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भए पनि जुट खेतीको प्रोत्साहनका लागि कुनै कार्यक्रम लागू नभएको उद्योगी राठीले बताए ।

कुन वर्ष कति निकासी ?

आर्थिक वर्ष २०७५/२०७६ मा सबैखाले तयारी जुट छ अर्ब १६ करोड ८१ लाख मूल्य बराबरको निकासी भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७६/२०७७ मा पाँच अर्ब ६५ करोड २३ लाख बराबरको तयारी जुटका सामग्रीहरुको निकासी भएको थियो ।

अघिल्लो वर्षको तुलनामा ५१ करोड ५८ लाख बराबरको जुट निकासीमा घटेको देखिएको छ । कोरोनाको कारण लकडाउनका भएको चार महिनाको मात्र तथ्यांंक हो ।

चालु आर्थिक वर्षको दुई महिनामा एक अर्ब ७९ करोड ८ लाख रुपैयाँ बराबरको तयारी जुट निकासी भएको छ । अघिल्लो वर्षको दुई महिनामा दुई अर्बको जुटको तयारी बस्तुको निकासी भएको थियो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले लकडाउन र निषेधाज्ञाको कारण जुटको निकासीमा कमी आएको तथ्यांकमा देखिएको बताए ।

Loading...