Rumpum

Rumpum Advertisement

जुम्लामा डा. केसीको अनशन सुरु

जुम्लामा डा. केसीको अनशन सुरु

काठमाडौं, २९ भदौ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा डा. गोविन्द केसीले जुम्लामा अनशन सुरु गरेका छन् ।

चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका उनले ६ बुँदे माग राखेर सोमबारदेखि अनशन सुरु गरेका हुन् । उनले आज दिउँसो २ बजेबाट अनशन सुरु गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर निषेधाज्ञा र लकडाउन अन्त्य गर्नुपर्ने उनको माग छ ।

यसअघि ११ भदाैदेखि जुम्लामा अनशन बस्ने घोषणा गरेका थिए । तर जुम्लामा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढेको जनाउँदै उनले सत्याग्रह स्थगित गरेका थिए ।

यस्ता छन् डा. केसीका पछिल्ला माग

डा. केसीले पछिल्लो समय राखेको मागमा प्रतिष्ठान जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस सञ्चालन, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन र सरकारले २०७५ साल साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन रहेका छन् ।

यसैगरी शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन, सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्नेलगायतका रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पूर्वाधारसहित डाक्टर पढाइ हुनुपर्नेलगायतका माग राख्दै उनी सत्याग्रह बस्न ११ साउनमा जुम्ला पुगेका थिए ।