पाँच वर्षभित्र प्रदेश १ बालविवाहमुक्त

विराटनगर, २९ भदौ । आगामी पाँच वर्षभित्र प्रदेश १ लाई बालविवाहमुक्त प्रदेश बनाइने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी सुरु गरेको बताएका हुन् ।

राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन सोमबार सार्वजनिक गर्दै मुख्यमन्त्री राईले सबै पक्षको सहभागितामा बालविवाहमुक्त प्रदेश निर्माण गरिने बताएका हुन् ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार भएर गएको बताए ।

सामाजिक विकास राज्यमन्त्री जशमाया गजमेरले सडकमा बालबालिका बस्नुपर्ने अवस्थाको अन्त्य गरिने बताइन् । सडक बालबालिकालाई उद्दार गर्ने काम भइरहेको राज्यमन्त्री गजमेरले बताइन् । उनले हालसम्म प्रदेश १ मा ५३ जना सडक बालबालिकाको उद्दार भएको बताइन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकहरुको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको बताए । प्रदेश १ मा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको बताए ।

Loading...