नेयमार र गोन्जालेजबीच ‘जुहारी’

एजेन्सी, २९ भदौ । ब्राजिलियन फरवार्ड नेयमार र स्पेनिस डिफेन्डर अल्भारो गोन्जालेजबीच सामाजिक सञ्जालमा ‘जुहारी’ नै परेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार र गोन्जालेजले लिग वानअन्तर्गत आइतबार राति भएको खेलको विषयमा ट्वीटरमा भनाभन गरेका हुन् ।

पीएसजीको मैदानमा भएको खेलमा घरेलु टोलीका तीन र मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए । पाहुना टोली मार्सेलीले १–० गोलको जित निकालेको थियो । मार्सेलीलाई जिताउन फ्लोरियन थाउभिनले निर्णायक गोल गरेका थिए ।

खेलको अन्तिम समयमा दुई पक्षका खेलाडीबीच झडप भएको थियो । जसमा पीएसजीका नेयमार, लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सेलीका जोर्डन अमावी र डेरियो बेनेडेटोलाई मैदानबाहिर पठाइएको थियो ।

करिब पाँच हजार दर्शकमाझ भएको सो खेल अवधिभर १७ वटा कार्ड रेफ्रीले देखाएका थिए । लिग वानको खेलमा यो कीर्तिमानी कार्ड संख्या हो ।

खेलको अन्त्यमा नेयमारलाई रेफ्रीले भीएआरको सहायतामा रातो कार्ड दिएका थिए । ब्राजिलियन स्टारले अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएको पाइएपछि रेफ्रीले उनलाई मैदानबाहिर पठाएका थिए ।

नेयमारले आफूमाथि जातीय टिप्पणी गरिएका कारण हात उठाएको जनाएका छन् । सामाजिक सञ्जालमा नेयमारले आफूमाथि जातीय टिप्पणी गरेको बताएका थिए । ‘उनले मलाई बाँदरको छोरा भनेपछि मैले झापड हानेको हुँ । मलाई यो कुराको पछुतो छ कि मैले किन उनको अनुहारमा हिर्काइनँ ।’

यता, गोन्जालेजले भने जातीय टिप्पणी नभएको बताएका छन् । ट्वीटरमा उनले लेखेका छन्, ‘यहाँ जातीयताको कुनै ठाउँ नै छैन । यहाँ हाम्रो स्ष्ट जित छ । कहिलेकाहिँ तपाईंले मैदानमा हार्न सिक्नुपर्छ । हामीले अविश्वनीय ३ अंक बटुलेका छौं । धन्यवाद सबैमा ।’

गोन्जालेजको जवाफमा नेयमार पुनः जातीय टिप्पणी भएको दाबी गरेका छन् । ‘तिमी गल्ती स्वीकार्ने मान्छे होइनौ । हार खेलको एक पाटो हो । कसैको अपमान गर्नु र जातीयवादलाई हाम्रो जीवनमा ल्याउने कुरामा म सहमत छैन । तिमीप्रति मेरो सम्मान छैन । तिम्रो व्यवहार ठीक छैन ।’

नेयमारलाई अब लिग वानका केही खेलमा प्रतिबन्ध लाग्न सक्ने छ । रोतो कार्ड पाएका उनले एक गुमाउने पक्का छ । त्यसपछि उनीमाथि अरु कारवाही हुन सक्नेछ ।

Loading...