‘कोरोना महामारीमा बालबालिका घरभित्रै असुरक्षित’

विराटनगर, २९ भदौ । कोरोना महामारीका बेला कतिपय बालबालिकाका परिवार आर्थिक समस्यामा परेको र कतिपय बालबालिका घरभित्रै समेत असुरक्षित भएकोप्रति बालबालिकाको अधिकारको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालले चिन्ता व्यक्त गरेको छ ।

यस्तो जटिल परिस्थितमा कतिपय बालिकाहरू बलात्कृत भएका, बालबालिका बालविवाहमा परेका, हेला र दुव्र्यवहारमा परेको पाइएको पनि सिविनले जनाएको छ ।

यसैगरी इन्टरनेट अनलाइनमा बालबालिकाको बढ्दो पहुँचसँगै उनीहरू अनलाइन दुव्र्यवहारमा परिरहेको र अनलाइन जोखिम बढिरहेको पाइएको पनि सिविनले जनाएको छ ।

सिविनले यसरी लकडाउनमा बालबालिकाको संरक्षणको सवाल ज्वलन्त समस्याका रूपमा देखा परेको र यस्तो जोखिम बढ्नु सबैका लागि चिन्ताको विषय भएको प्रवक्त कुमार भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, सिविन नेपालले कोरोना महामारीका बेलामा यस वर्षको बाल दिवस फरक शैलीबाट मनाउने भएको छ । ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ मनाइरहेको यस वर्षको राष्ट्रिय बालदिवस कोरोना महामारी र लकडाउनका कारण बालिका शान्ति गृह तथा बाल गृहमा रहेका बालबालिकामाझ बालदिवस मनाइरहेको बताइएको छ ।

सिविन नेपालको संरक्षणमा रहेका बालबालिकाले विभिन्न संघसंस्था तथा सञ्जालहरूद्वारा आयोजित प्रतियोगिताहरूमा पनि सहभागिता जनाउने सिविन नेपालद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

त्यस्तै, भाद्र ३१ गते बुधबार सिविन नेपालले सबै प्रदेशका बाल प्रतिनिधिहरूबीच कोभिड १९ र यसले बालबालिकामाथि पारेको प्रभावका बारेमा भर्चुअल बाल परिसंवाद कार्यक्रम गरिने जनाएको छ ।

Loading...