Rumpum

Rumpum Advertisement

नेयमारलाई केही खेलमा प्रतिबन्ध लाग्नसक्ने

नेयमारलाई केही खेलमा प्रतिबन्ध लाग्नसक्ने

एजेन्सी, २९ भदौ । ब्राजिलियन फरवार्ड नेयमारसहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन खेलाडीले मार्सेलीविरुद्धको खेलमा रातो कार्ड पाए । फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीका तीन र मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।

पीएसजीको मैदानमा भएको खेलमा पाहुना टोली मार्सेलीले १–० गोलको जित निकालेको थियो । मार्सेलीलाई जिताउन फ्लोरियन थाउभिनले निर्णायक गोल गरेका थिए । खेलको अन्तिम समयमा दुई पक्षका खेलाडीबीच झडप भएको थियो ।

जसमा पीएसजीका नेयमार, लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सेलीका जोर्डन अमावी र डेरियो बेनेडेटोलाई मैदानबाहिर पठाइएको थियो । करिब पाँच हजार दर्शकमाझ भएको सो खेल अवधिभर १७ वटा कार्ड रेफ्रीले देखाएका थिए ।

लिग वानको खेलमा यो कीर्तिमानी कार्ड संख्या हो । खेलको अन्त्यमा नेयमारलाई रेफ्रीले भीएआरको सहायतामा रातो कार्ड दिएका थिए । ब्राजिलियन स्टारले अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएको पाइएपछि रेफ्रीले उनलाई मैदानबाहिर पठाएका थिए ।

तर, नेयमारले आफूमाथि जातीय टिप्पणी गरिएका कारण हात उठाएको जनाएका छन् । ‘उनले ममाथि जातीय टिप्पणी गरेका थिए, यसैले मैले उनलाई हिर्काएँ’, खेलपछि बोल्दै नेयमारले भने ।

‘उनले मलाई बाँदरको छोरा भनेपछि मैले के गर्नु ?’, उनले भने, ‘मैले झापड हानेपछि म निकालिएँ ।’

यसैगरी नेयमारले ट्वीटरमा लेखेका छन्, ‘मलाई यो कुराको पछुतो छ कि मैले किन उनको अनुहारमा हिर्काइनँ ।’

नेयमारलाई अब लिग वानका केही खेलमा प्रतिबन्ध लाग्न सक्ने छ । रोतो कार्ड पाएका उनले एक गुमाउने पक्का छ । त्यसपछि उनीमाथि अरु कारवाही हुन सक्नेछ ।