भाडा तिर्न नसक्दा व्यापारबाट पलायन, खुलेका पसलमा ग्राहक छैनन्

विराटनगर, २९ भदौ । विराटनगरका महेश बानियाँ लकडाउन अघिसम्म चिया पसल सञ्चालन गर्थे । तीन वर्षयता सुरु गरेको व्यापारबाट उनी पलायन भएका छन् ।

लकडाउनका कारण भाडा तिर्न नसक्दा व्यापारबाट पलायन भएका हुन् । लकडाउनको समयमा पसल बन्द भयो । पसल बन्द भएपछि भाडा तिर्नसमेत समस्या भएपछि व्यवसाय नै छाडेको उनले बताए ।

विराटनगर अस्पताल चोकमा नास्ता पसल सञ्चालन गर्दै आएका सुरेन मण्डल पनि व्यापारबाट पलायन हुने अवस्थामा पुगेका छन् । लकडाउन खुले पनि ग्राहक आएका छैनन् । ग्राहक नआउँदा भाडा तिर्न नसकेको उनले बताए । लकडाउन अघिसम्म दुईजनालाई रोजगारीसमेत दिएका उनले कमाइ नभएपछि भाडा कसरी तिर्नु भन्ने समस्या थपिएको बताए ।

पसल खुले पनि ग्राहक नआउँदा समस्यामा परेको मण्डलले बताए । ‘यस्तै अवस्था हो भने व्यवसाय नै छोड्नुपर्छ,’ उनले भने, ‘अबको केही समय हेर्ने हो, यस्तै नै भयो भने व्यवसाय छोडछु ।’

विराटनगर–६ मा किराना पसल सञ्चालन गर्दै आएका बाबुराम सञ्जेल व्यवसाय खस्किएका कारण समस्या भएको बताउँछन् । पछिल्लो समय बजार खुले पनि ग्राहक घटेको बताउँदै उनले भने, ‘यस्तै अवस्था हो भने व्यवसाय नै छाड्नु पर्छ ।’

लकडाउनका कारण विराटनगरका साना तथा मझौला व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । लामो समयको लकडाउन र निषेधाज्ञापछि बजार खुले पनि ग्राहक नआएको उनीहरुको गुनासो छ । ग्राहक नआउँदा सटर भाडामा लिएर साइकल मर्मत गर्नेदेखि चिया पसल, होटल, किरानालगायतका व्यवसाय गर्ने साना व्यापारी भाडा तिर्न नसकेर पलायन हुने अवस्था आएको बताउँछन् ।

Loading...