
आशिका लम्साल
हजुर तरकारी लिनोहोस् है ताजा तरकारी
लौ हजुर आयो है आयो ताजा माछा, जिउँदो माछा
हजुर जुत्ताचप्पल, जामा, गञ्जी सर्ट लिनुहोस् है, सस्तोमा …
आजकल विराटनगर बजारमा ससाना बालबालिकाहरुले सकी–नसकी रिक्सा कुदाउँदै शहरका टोलटोलमा चिच्चाउँदै घुमिरहेका हुन्छन् । कोहीले आफ्ना अभिभावकको सहयोग पाइरहेका हुन्छन् भने धेरै चाहिँ दाजुबहिनी वा दिदीबहिनी वा दाजुभाइ मिलेर सकी–नसकी पालोपालो रिक्सा कुदाउँदै टोलमा व्यापार गर्न घुमिरहेका हुन्छन् ।
छ महिनादेखि निरन्तर यसरी असिनपसिन हुँदै टोलटोल घुम्नु उनीहरुको रहर हैन बाध्यता हो । शहरी क्षेत्रमा बस्ने गरीब परिवारका बालबालिकालहरु कोरोना महामारीले गर्दा पढ्न मात्र बञ्चित भएका छैनन् परिवारमा साँझबिहान के खाउँ, कसरी खाउँ भन्ने अवस्थामा पुगेका छन् । उनीहरुका अभिभावकले गर्दै आएको जनमजदुरी पेशा लकडाउन र निषेधाज्ञाले गर्दा धरासायी भएको छ । रिक्सा, सिटी, अटो, ठेला केही पनि चलेका छैनन् । बजार चलायमान नहुँदा उनीहरुको रोजगारीमा प्रत्यक्ष असर परेको छ । तरकारी, फलफूल र साना मनहारीको पसल गर्नेहरुसमेत प्रभावित भएका छन् । जसको मार शहरी गरीब बालबालिकाहरुमा प्रत्यक्ष परेको छ ।
कोरोना महामारीले गर्दा खुला आकाश मन पराउने बालबालिकाहरु शैक्षिक संस्था नखुलेका कारण घरमै सीमित छन् । ग्रामीण क्षेत्रका बालबालिकाहरु त आआफ्नो गच्छेअनुसारको कृषिकर्ममा भुलिरहेका छन् । धेरैले बिद्यालय नलागे पनि आफ्ना अभिभावकलाई घरको काममा सहयोग गरिरहेका छन् । परिवारिक र सामाजिक वातावरणमा घुलमिल भइरहेका छन् ।
तर शहरी गरीब बालबालिकाहरु कोरोनाका कारण प्रत्यक्ष त्रासमा परेका छन् । शहरी क्षेत्रका लाखौं गरिब बालबालिकाहरु सिर्जनशिलताविहीन भएका छन् । उनीहरु कोही आमाबुबालाई तरकारी र फलफूल बिक्री गर्न सघाउँदैछन् । तर कोभिडमा व्यापार पनि खुम्चिएकाले धेरै बालबालिकाहरु कैदीझैँ बस्न बाध्य छन् । स्कुल जान, पढ्न, खेल्न, साथीभाइसँग रमाइलो गर्न रुचाउने नानीहरुलाई कोरोना महामारीले मनावैज्ञानिक त्रास थपेको छ । अर्कोतिर महामारीमा बाहिर हिँडडुल गर्न नपाइने, आमाबाबुले गर्दै आएको बन्दव्यापार पूर्ण प्रभावित हुँदा आर्थिक अवस्था दयनीय बनेकाले बालबालिकाहरुलाई झन् पीडा थपिएको छ । कतिपयको घरमा कलह सिर्जना हुँदा बालबालिकाहरु पनि घरेलु हिंसाको मारमा परेका छन् ।
कोरोना महामारी लामो समयसम्म चलेको र अझै चल्ने भएकाले शहरी क्षेत्रका गरीब बालबालिकाहरु अझै धेरै त्रास र आर्थिक मारमा पर्ने निश्चित छ । अझै अभिभावकको आम्दानीसमेत गुमेकाले अब उनीहरुको पढाइ पनि संकटमा पर्ने अवस्था सिर्जना भएको छ । धेरैपछि बिद्यालय खुले पनि सबै अभिभावकले बालबालिकाहरुलाई पढ्न पठाउने अवस्था हुँदैन । निजी स्कुलमा पढाउनेहरुले त पक्कै छोराछोरी स्कुल पढाउन चुनौती छ ।
हो, कोरोनाले सबै उमेर समूह र वर्गका मानिसलाई उत्तिकै तसोएको छ । तर अझ बढी कोरोनाको चपेटामा निम्न वर्ग छन् । जसको प्रत्यक्ष असर उनीहरुका सन्तान अर्थात् बालबालिकाहरुमा पनि परेको छ ।
कतिपय बालबालिकाको त बाबुआमा दुबै संक्रमित भएर आइसोलेसनमा लगिएको छ । ती बालबालिका कसरी बसेका होलान्, के खाँदै होलान् ? यस्तो परिवारको बालबालिकाको पीडा कति कहालीलाग्दो होला ? धेरै बिरामी भएका बालबालिकाले पनि भनेजस्तो उपचार पाएका छैनन । यसबारे स्थानीय, प्रदेश र संघीय सरकार कसैले खोजखबर गरेको पाइँदैन । गरीब भएकाले उनीहरुलाई टोल–समाजका छिमेकीहरुले पनि वास्ता गर्ने गर्दैनन् । जसले गर्दा बालबालिकाहरु भोकभोकै मात्र नभएर आफूलाई दिनहीन भएको हीनभावना पाल्न बाध्य भएका छन् । जसको असर उनीहरुको पठनपाठनमा मात्र नभएर निर्णय क्षमतामा पनि पर्नेछ ।
हुनेखाने परिवारका बालबालिकालाई लकडाउन ‘एक चाडझैं’ भएको होला । उनीहरु घरमै विभिन्न सुविधा उपभोग गरिरहेका होलान् । अनलाइन कक्षा पनि लिइरहेका होलान् तर हँुदा खाने वर्गलाई चाहिँ कोरोनाले जिउन न मर्नु बनाएको छ । कोरोनाले गर्दा नै निजी क्षेत्रमा काम गर्ने थुप्रै दम्पतिले जागिर गुमाएका छन् । जसको प्रत्यक्ष असर बालबालिकामा परेको छ । छोराछोरीको उज्ज्वल भविष्यका निम्ति जोहो गरेर राखेको पैसा लकडाउनको सुरुवाती दिनमै सकिएको छ । तर कोरोना संक्रमण अझै नियन्त्रणमा आइसकेको छैन । जसले परिवारको गुजारा चलाउन झन्झन् संकट थपिँदैछ । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने बाबुआमा कामविहीन भएर खालीहात घरमै बस्न बाध्य छन् । केहीले विरक्तिएर आत्महत्या पनि गर्न थालिसकेका छन् । धेरै बालबालिकाहरु आधा पेट खाएर जीवन गुजारिरहेका छन् । जसले गर्दा बालबालिकाहरुमा कुपोषणको जोखिम पनि थपिएको छ ।
राष्ट्रिय बाल दिवस प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ भव्यरुपमा मनाउने गरिन्थ्यो । तर कोरोनाका कारण यस वर्ष बाल दिवस प्रत्यक्ष प्रभावित भएको छ । विद्यालयहरु बन्द भएकाले कुनै औपचारिक कार्यक्रमहरु भएका छैनन् । कोभिडकै त्रासले भविष्यका आसलाग्दा कलिला मुनाहरुले निरासाको घेराभित्र निसासिनु परेको अवस्था छ । सबै सुविधाले सम्पन्न परिवारका बालबालिकाका लागि प्रत्येक दिन बाल दिवस हुने गरेको छ । तर गरिबीको रेखामुनि रहेका बालबालिकाको लागि न सरकारको तर्फबाट न कुनै पहल भयो न कुनै नीतिको निर्माण भएको छ । सडकमा रहेका र पहुँच नभएका बालबालिकाका लागि हरेक वर्ष मनाइने बाल दिवस शब्द र नारामा मात्र सीमित भएको छ । झन् यसपालि त कोरोनाले गर्दा उनीहरुसम्म नारा पनि पुग्ने अवस्था छैन ।
कोरोना महामारीका बेला भिख मागेर आफ्नो दैनिकी चलाउने सडक बालबालिकाको अवस्था झन् कहालीलाग्दो छ । आफूले आफूलाई बालअधिकारकर्र्मी भन्दै खोक्नेहरु खै यो महामारीको बेला कुन दुलोभित्र पसे ? आकर्षक नारा बनाएर अनेकौं प्रतिबद्धता गरेर बालअधिकारको संरक्षण गर्छु भन्ने अधिकारकर्मी, सरकार महामारीको यो कठिन समयमा चाहिँ खै कता लुके ? के बालअधिकार शब्द र नाराका लागि मात्रै हो ?
हाल महामारीको अवस्थामा ४४ प्रतिशत जनसंख्या ओगटेका बालबालिकाका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरु, विद्यालय र अन्य सम्बन्धित सरोकारवालाहरुले उनीहरुको बचाउ, संरक्षण, विकास र सहभागिताका सवालमा गरेका कार्यहरुको पुनरावलोकन गर्न जरुरी छ । विशेषगरी शहरी क्षेत्रका गरीब र जोखिम अवस्थामा रहेका बालबालिकाहरुको मनौवैज्ञानिक समस्या, उद्दार र पुनस्र्थापनामा सबैले हातेमालो गर्न आवश्यक छ ।
बालअधिकारकर्मी बासु अधिकारी कोभिडलाई त्रासका रुपमा मात्र नभएर व्यस्त जीवनशैलीका कारण बालबालिकासँग बढेको पारिवारिक दुरी घटाउने अवसरको रुपमा लिनु पर्ने बताउँछन् । हुन पनि दैनिक हतारमा बिद्यालय जानुपर्ने, धेरै पढ्नुपर्ने , गृहकार्य गर्नुपर्ने, भनेको बेला साथीभाइ भेट्न र रहर लागेअनुसार खेल्न पनि नपाइने, व्यस्त र दबाबमूलक जीवन अहिले छैन । यसैले बालबालिकासँग बसेर परिवार, इष्टमित्रका विषयमा कुरा गर्ने, पुराना तस्बिर देखाएर आफन्त चिनाउने भूमिका पाका सदस्यले निभाउनु पर्छ । यसैगरी करेसाबारीमा काम गर्नु, बोटविरुवा चिनाउने, समान्य खनजोत गर्ने काममा पनि बालबालिकालाई लगाउन सकिन्छ । यसबाहेक आफ्नो रितिरिवाजअनुसारको संस्कार बुझाउने र बालबालिकालाई सामाजिक परम्परा बुझ्ने काम पनि गर्न सकिन्छ । यति मात्र नभएर परिवारका सदस्यमा भएको गीत गाउने, खेल्ने वा अन्य सीपहरु बालबालिकाहरुलाई सिकाउन सकिन्छ । साथै बालबालिकाहरुको रुचिअनुसार सीप विकासमा सहयोग गर्न सकिन्छ । जस्तोः चित्र बनाउने, गीत–कविता लेख्ने–गाउने, विभिन्न यन्त्रहरु बनाउने रुचि बालबालिकाहरुमा हुन्छ । तर शहरी गरीब बालबालिकाहरुले यो सुविधाको अवसर प्राप्त गर्न सक्दैनन् । किनभने उनीहरु महामारीको त्राससँगै झन् दयनीय गरिबीको दबाबमा परिरहेका हुन्छन् ।
सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले ठूलोसानो धनी–गरीब नभनी संसारका सबै देशहरुको सातो लिइरहेको छ । आधुनिक स्वास्थ्य तथा औषधि विज्ञानमा पोख्त मानिने देशहरुको प्रयासले पनि अझैसम्म समाधानका लागि केही परिणाम दिन सकेको छैन । संसारका खासगरि शक्तिशाली देशका वैज्ञानिक, अनुसन्धानकर्ता, विद्वान, धनाढ्य व्यापारीहरुलाई कोरोना भाइरस चुनौती भएको छ ।
कोरोना भाइरसका कारण नेपालको अवस्था पनि ‘दिन दुना रात चौगुना’ भयावह बनिरहेको छ । नेपालमा कोरोना संक्रमणले छ सयभन्दा बढीको मृत्यु भइसकेको छ । पचास हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् र दिनानुदिन थप नयाँ संक्रमितहरु थपिइरहेका छन् । छ महिनादेखि देशका विभिन्न ठाउँहरुमा लकडाउन, निषेधाज्ञा जारी छ । कलकारखाना, उद्योग, व्यापार–व्यवसाय, शैक्षिक संस्था ठप्प छन् । अनौपचारिक क्षेत्रको रोजगारी पनि गुमेको छ । लामो समयदेखि शैक्षिक संस्था बन्द भएका कारण भविष्यका कर्णधार मानिने कयौं बालबालिकाको वर्तमान नै अन्योलमा छ । त्यसमा पनि शहरी गरीब बालबालिकाहरु झन् धेरै समस्यामा छन् । यसैले उनीहरुको अधिकारका लागि सरकारी, गैरसरकारी सबै क्षेत्रले हातेमालो गरौं ।
(प्रशिक्षार्थी पत्रकार)