निजी विद्यालयका शिक्षक बेखर्ची, पारिश्रमिक नपाउँदा राहतको लाइन

प्याब्सन अध्यक्ष भन्छन् : बाँच्ने आधार बनाइदिनुपर्छ

विराटनगर, २९ भदौ । कोरोना महामारी कारण विद्यालय बन्द भएपछि निजी विद्यालयका शिक्षकलाई खाना बस्न समस्या पर्न थालेको छ । लकडाउन सुरु भएयता छ महिना पारिश्रमिक नपाएका शिक्षकहरुलाई खान-बस्न नै समस्यामा पर्न थालेको हो ।

विद्यालयमा पठनपाठन नहुँदा शिक्षकले पारिश्रमिक पाएका छैनन् । पारिश्रमिक नपाउँदा गुजारा चलाउनै मुस्किल परेको हो ।

विद्यालयबाट पारिश्रमिक नपाउँदा शिक्षकहरु राहतको लाइनमा पुग्नु परेको संस्थागत विद्यालय शिक्षक युनियन मोरङका सचिव चिराग सरलले बताए ।

‘विद्यालयमा पढाउने शिक्षक हुँ भन्दै साथीहरु राहतको लाइनमा बस्न बाध्य हुनुभयो,’ उनले भने, ‘शिक्षक यस्तो अस्थामा पुग्दासमेत विद्यालयले कुनै चासो दिएनन् ।’

निजी विद्यालयका अधिकांश शिक्षकहरुले चैत्र महिनादेखि पारिश्रमिक नपाएको उनले बताए । मोरङका निजी विद्यालयका ९९ प्रतिशत शिक्षक तलबविहीन भएको उनको दावी छ ।

निजी विद्यालयका शिक्षकहरु पहिलादेखि नै न्यून पारिश्रमिकका काम गरिरहेको बताउँदै उनले लकडाउनको बहानामा विद्यालय सञ्चालक पन्छिँदा झनै समस्या परेको बताए । अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयले समेत पारिश्रमिक नदिएको सरलले बताए ।

‘पारिश्रमिकका लागि आन्दोलन गर्दा प्रशासनले रोक्यो,’ उनले भने, ‘विद्यालय सञ्चालकसँग छलफल गर्दा पारिश्रमिक दिने सहमति भयो । तर कार्यान्वयन भएन ।’

कोभिड १९ महामारीका कारण निजी विद्यालयका शिक्षकहरुको अवस्था दयनीय बनेको शिक्षक तुलसी खतिवडाले बताए ।

प्याब्सन अध्यक्ष भन्छन् : विद्यालयले दिनुपर्छ

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का केन्द्रीय अध्यक्ष टिकाराम पुरी शिक्षकको अवस्था दयानीय भएकाले विद्यालयले नै तलब खुवाउनु पर्ने बताउँछन् ।

कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा शिक्षकले पारिश्रमिक पाउन नसकेको बताउँदै उनले भने, ‘शिक्षक बाँचे शिक्षालाई बचाउन सकिन्छ ।’

अध्यक्ष पुरीले ऋण गरेर भए पनि विद्यालयलले शिक्षकलाई बाँच्ने आधार बनाइदिनुपर्ने बताए । प्याब्सनसँग कुनै फन्ड नहुने भएकाले शिक्षकको हकमा केही गर्न नसकिएको उनले बताए ।

शिक्षकहरुको सुरक्षाका लागि आव्हानबाहेक केही गर्न सक्ने अवस्थामा नभएको उनले बताए ।

‘अहिले विद्यालयहरु पनि शिक्षकलाई पारिश्रमिक दिन सक्ने अवस्थामा छैनन् ।’ उनले भने, ‘विद्यालयसँग आम्दानी छैन, सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नु पर्छ ।’

Loading...