कोरोना संक्रमित दुई जनाको मृत्यु

कोरोना संक्रमित दुई जनाको मृत्यु

रुपन्देही/चितवन । बुटवल र चितवनमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी कोरोना सङ्क्रमित महिलाको सोमबार मृत्यु भएको हो । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यहीभदौ २१ गते गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डाइलासिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा लगिएको थियो । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

त्यस्तै चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । रासस