Rumpum

Rumpum Advertisement

भारत गएका विराटनगरका युवामाथि जोगवनीमा गोली प्रहार

भारत गएका विराटनगरका युवामाथि जोगवनीमा गोली प्रहार

विराटनगर, २९ भदौ । मटेरुवा नाका हुँदै भारततर्फ गएका विराटनगरका एकजना नेपाली युवामाथि जोगवनीमा गोली प्रहार गरिएको छ ।

सीमा क्षेत्रको दशगजाअन्तर्गत भारततर्फको भूमिमा विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि गोली प्रहार भएको नेपाल प्रहरीले जनाएको छ । मटेरुवा प्रहरी चौकी नजिकै रहेको घटनास्थल भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा पर्छ । घटनास्थलछेउमा नेपालतर्फ सीमा नाकामा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

गोली प्रहारबाट घाइते भएका विराटनगर–१२ का बासु भनिने दीपक मण्डल ।

मण्डल नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवा नाका हुँदै आइतबार दिउँसो ३ बजेतिर भारततर्फ गएका थिए । भारत छिरेको केहीबेरमै उनीमाथि गोली प्रहार भएको खुलेको नेपाल प्रहरीले जनाएको छ । तर दशगजा नजिकै गोली प्रहारको घटना भए पनि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले भने कुनै सुइँको पाएनन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत आवतजावत बन्द गरिएको छ । मानिसको आवतजावतलाई पूर्णरुपमा रोक लगाउन सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नाकामा परिचालित प्रहरीलाई छल्दै भारततर्फ गएका मण्डलमाथि विवाद गर्दै भारतीय युवाले गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मण्डलमाथि भारत जोगवनीका अन्दाजी २५/३० वर्षीय मुकेश यादवले पेस्तोलबाट गोली प्रहार गरेको खुलेको छ ।

घटना हुनुअघि दशगजा नजिकै भारततर्फ यादव केही साथीहरुसँग क्यारम खेलेर बसिरहेको र पुग्नसाथ विवाद गरेर आफूमाथि गोली प्रहार गरेको मण्डलले प्रहरीलाई बताएका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा चोट लागेको बताए । मण्डलको औंलामा प्वाल परेको छ ।

गोली प्रहारबाट मण्डलको खुट्टाको औंलामा लागेको चोट ।

गोली प्रहारपछि घटनामा संलग्नले नै उठाएर जोगवनी बजारको एउटा क्लिनिकमा उपचार गर्न लगेको खुलेको छ । उपचार गराएको पैसा तिर्ने विषयमा विवाद हुन थालेपछि आफूसँग रहेको पेस्तोल निकालेर क्लिनिक सञ्चालककै अगाडि तीन राउण्ड हवाईफायर गर्दै यादव फरार भएको पाइएको प्रहरीको भनाइ छ ।

घटनापछि त्रसित बनेका स्थानीयबीच भागदौड मच्चिएको थियो । डराएर स्थानीय भागाभाग गर्न थालेपछि त्यही मौका छोपेर आफू पनि नेपाल आउन सफल भएको जानकारी मण्डलले प्रहरीलाई दिएका छन् । साँझ लगभग ७ बजेतिर नेपाल छिरेका उनले मटेरुवा प्रहरी चौकी र सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका थिए । तर त्यहाँका सुरक्षाकर्मीले कुनै वास्ता नगरेको उनको गुनासो छ ।

प्रहरीले उनलाई राति ९ः३० बजेतिर रोडशेष चोक नजिक फेला पारेर उपचारका लागि कोशी अस्पताल पुर्‍यायो । उपचारमा संलग्न चिकित्सकले गोली प्रहारबाटै चोट लागेको पुष्टि गरेका छन् । तर त्यसअघि नै घटनाका बारेमा घाइतेले सुनाए पनि सीमामा खटिएका प्रहरीले भने माथिल्लो निकायमा जानकारी नदिएको पाइएको छ ।

एसपी खड्काले सीमामा आवतजावतमा ठप्प बनाइएको अवस्थामा सुरक्षाकर्मीलाई छल्दै मण्डल किन भारततर्फ गएभन्ने बारेमा पनि अनुसन्धान सुरु गरिएको बताए । भारतीय भूमिमा घटना भएकाले यस घटनाको अनुसन्धान गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने काम भारतीय प्रहरीले गर्ने भएको छ । एसपी खड्काले आवश्यक समन्वय गर्दै घटनामा संलग्नलाई जतिसक्दो चाँडो कारबाहीको दायरामा ल्याउन भारतीय प्रहरीलाई आग्रह गरिसकेका छन् ।

मण्डलले भने जोगवनीमा आफ्नो मावली रहेकाले त्यता जाने क्रममा घटना भएको बताएका छन् । तर प्रहरीले भने उनी लागुऔषधका दुव्र्यसनी रहेको फेला पारेको छ। प्रहरीले फेला पार्दा उनी लागुऔषधकै नशामा थिए । मण्डलले पनि आफूले लागुऔषध कोरेक्स सेवन गरेको प्रहरीलाई बताएका छन् ।

‘गोली प्रहार गर्ने भारतीय युवा लागुऔषधका कारोबारी भएको खुलेको छ । घटनामा घाइते भएका नेपाली युवा त्यसका सेवनकर्ता रहेछन्,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘नेपाली युवा लागुऔषध सेवन गर्न भारत गएको बेला घटना भएको देखिन्छ । त्यही विषयमा दुई पक्षबीच विवाद हुँदा गोली प्रहार भएको हुन सक्छ ।’ भारतीय भूमिमा नेपाली युवामाथि गोली प्रहार भएको भन्दै नेपाल प्रहरीले गम्भीररुपमा अनुसन्धान अघि बढाएर घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन भारतीय प्रहरीलाई आग्रह गरेको छ ।

घटना अनुसन्धानका सवालमा भारतीय प्रहरीसँग समन्वय पनि गरिरहेको छ । घटनाका बारेमा गम्भीररुपमा चासो लिँदै गोली प्रहार गर्नेको खोजी तीव्र बनाइएको जानकारी भारतीय प्रहरीले नेपाल प्रहरीलाई गराएको छ ।