उपचारमा लापरवाही नहोस्

विराटनगर, २८ भदौ । पीसीआर रिपोर्ट पर्खँदापर्खँदै बिरामीको मृत्यु हुने घटना बढेपछि सरोकारवालाले कोशी अस्पताल विराटनगर प्रशासनलाई ध्यानाकर्षण गराएका छन् ।

पीसीआर रिपोर्ट पर्खँदा पर्याप्त उपचार नहुने र बिरामीले ज्यान जोखिममा पर्ने भएकाले नागरिक समाजका अगुवाले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

‘पीसीआर परिक्षणको नतिजा आउन निकै समस्या लाग्ने रहेछ फेरि रिपोर्ट नआइन्जेलसम्म स्वाब दिने मानिसलाई बेग्लै मानसिक दबाब हुँदो रहेछ,’ नागरिक समाजका अगुवा उत्तम ढुंगेलले भने, ‘पीसीआर परीक्षणको लागि कोशी अस्पतालमा आउने स्वाबको रिपोर्ट चाँडो आउने वातावरण सिर्जना होस् ।’

उनले कोशी अस्पतालमा उपचारको लागि मानिस आए पनि उपचार नपाएर ज्यान गुमाउन गुनासो आइरहेको बताए ।

कोशी अस्पतालका मेडिकल सपरिटण्डेन्ट डाक्टर चुमनलाल दासले क्षमताले भ्याएसम्मको परीक्षण दैनिक गरिरहेको बताए । ‘दैनिक तीन सयदेखि पाँच सय स्वाब प्रयोगशालमा परीक्षणको लागि आइरहेका छन्,’ उनले भने, ‘दुई मेसिन सञ्चालनमा छन् । प्रयोगशालामा अटोमेटिक आरएनए एक्ट्रायक्शन जोडिएपछि भने पीसीआर परीक्षणले तीव्रता पाउनेछ ।’

उनले अस्पतालभित्र आएका बिरामीलाई बाहिर नफर्काएको बताए । ‘मैले सूचना पाएसम्म आजको दिनसम्म कोशी अस्पताल परिसरभित्र आएका बिरामी उपचार नपाएर फर्किएर जानु परेको अवस्था छैन,’ मेसु दासले भने, ‘अस्पतालमा छुट्टै आइसोलेशन वार्ड छ, शंकास्पद बिरामीलाई हामीले त्यहाँ लगेर राख्ने गरेका छौं, उनीहरूको पीसीआर परीक्षण गर्ने गरेका छौं । क्षमताले भ्याएसम्मको उपचार सेवाग्राहीलाई दिने गरेका छौं,’ नागरिक अगुवा राजन भट्टराईले अस्पतालले बिरामी फर्काउने वातावरण बनाउन नमिल्ने बताए । मेसु दासले अस्पताल सुधार र विकासका लागि आगामी दिनमा सरोकारवाला निकाय र नागरिक समाजसँग आवश्यक सहकार्य गर्दै जाने बताए ।

Loading...