Rumpum

Rumpum Advertisement

कांग्रेसबाट निर्वाचित मेयरको गुनासो : ‘संघ र प्रदेशले हेला गर्‍यो’

कांग्रेसबाट निर्वाचित मेयरको गुनासो : ‘संघ र प्रदेशले हेला गर्‍यो’

विराटनगर, २८ भदौ । प्रदेश १ का तीन ठूला स्थानीय सरकारले कोरोना संक्रमण नियन्त्रणमा प्रदेश र संघीय सरकारले असहयोग गरेको गुनासो गरेका छन् । कांग्रेसबाट निर्वाचित विराटनगर, धरान र सुन्दरहरैंचाका मेयरले संघ र प्रदेशले असहयोग गरेको गुनासो गरेका हुन् ।

नेपाली कांग्रेसले शनिबार आयोजना गरेको जुम बैठकमा विराटनगर महानगरपलिकाका मेयर भीम पराजुली, धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सहयोग नपाएको गुनासो गरे । यस्तै सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले कांग्रेसबाट निर्वाचित स्थानीय सरकारलाई प्रदेश र संघबाट असहयोग भएको बताए ।

‘संघ र प्रदेशको कुनै पनि सहयोग विराटनगरलाई छैन, अरु नेपाली कांग्रेसले जितेका पालिकालाई पनि सहयोग नभएको अवस्था छ,’ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने, ‘कुनै कुरामा विचलित नभइ विराटनगर महानगरपालिकाले महामारीमा सकेको प्रयास गरेको छ ।’

प्रदेश र संघले सहयोग नगर्दा निजी क्षेत्रबाट सहयोग संकलन गरेर पीसीआर र आरएनए एक्ट्रयाक्सन मेसिन खरिद गरेको उनले बताए ।

‘नेकपाले जितेको ठाउँमा प्रशस्त सहयोग गर्ने, नेपाली कांग्रेसले जितेको ठाउँमा सहयोग नगर्ने कम्युनिष्ट प्रवृति देखाएको छ । यसमा पार्टीले आवाज उठाउनुपर्छ,’ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएको भर्चुअल बैठकमा पराजुलीले भने, ‘सरकारका गल्ती कमजोरीलाई विपत्ति छ भनेर चुप लाग्ने होइन, त्यही ढंगबाट जनतासम्म पुर्‍याउनुपर्छ ।’

विराटनगरमा भएको आइसोलेशन व्यवस्थापन गर्न नसकेको प्रदेश सरकारले नयाँ आइसोलेशन थप गर्न नसकेको मेयर पराजुलीको दाबी छ । प्रदेश सरकारले असहयोग गर्दा महानगरको अग्रसरतामा होटल आइसोलेशन र अन्य आइसोलेशन सञ्चालनमा ल्याएको उनले बताए ।

‘विराटनगर प्रदेशको राजधानी हो । सात प्रधानमन्त्री दिएको शहरले संघ र प्रदेशले सहयोग नगरेपनि हरसम्मत प्रयत्न गरेका छौं,’ उनले भने, ‘प्रदेश र संघको भूमिकालाई प्रष्ट देखाउन मिडियादेखि सबै ठाउँमा हामीले आवाज उठाएका छौं ।’

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कांग्रेसले जितेको ठाउँमा नेकपाले काम गर्न असहयोग गरेको गुनासो गर्दै पार्टीको केन्द्रले समन्वयका लागि प्रतिनिधि पठाइदिनुपर्ने बताए ।

धरानको नगरसभामा कांग्रेस अल्पमतमा छ । अल्पमतमा परेका कारण पटक–पटक काम गर्न गाह्रो भएको बताउँदै उनले पार्टीको तर्फबाट समन्वयकारी भूमिका खेल्नेगरी केन्द्रले प्रतिनिधि पठाउनुपर्ने बताए । उनले पनि प्रदेश र संघबाट आवश्यकताअनुसार सहयोग नआएको बताए ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले कांग्रेसले जितेका ठाउँमा पीसीआर जाँचमा पनि असहयोग भएको गुनासो गरे । उनले सुन्दरहरैंचामा बनाउने भनिएको आइसोलेशन अस्पताल नेकपाले जितेको क्षेत्र बराहक्षेत्रमा लगेको बताए ।

‘हामीले कन्ट्याक्ट ट्रेसिङ नियमित गरिरहेका छौं । तर समस्या के छ भने हामीले पठाएको स्वाब पनि समयमा परीक्षण गरिँदैनन्,’ उनले भने, ‘पीसीआर जाँचमा ढिलो गरेर दुःख दिने काम संघ र प्रदेशको ल्याबले गरेको छ । रिपोर्टका लागि सात दिनसम्म पर्खिनुपर्छ ।’ कांग्रेसबाट जितेका पालिकाहरूको गुनासो सम्बोधन गर्न पार्टीले भूमिका खेल्नुपर्ने उनले बताए ।