धेरै मोबाइलको प्रयोगले उमेर नपुग्दै वृद्ध देखिने खतरा बढ्दै

विराटनगर, २८ भदौ । धेरै मोबाइलको प्रयोगले उमेर नपुग्दै बूढो देखिने खतरा बढाएको अध्ययनले देखाएको छ ।

चाहिने कामबाहेक मोबाइलको धेरै प्रयोगले युवाहरू उमेर नपुग्दै वृद्ध देखिने खतरा बढ्दै गएको ‘द इम्प्याक्ट अफ स्मार्टफोन एण्ड मोबाइल डिभाइसेस अन ह्यूमन हेल्थ एण्ड लाइफ’को अध्ययनमा  उल्लेख गरिएको छ ।

यो प्रयोग फोनमा कुराकानी गर्न, म्यासेज पढ्न तथा पठाउन, सामाजिक सञ्जाल चलाउन, गीत सुन्न, गुगल म्यापको प्रयोग गर्न तथा गेम खेल्न हुने गरेको छ ।

अध्ययनका अनुसार दैनिक ५ घण्टा मोबाइलमा बिताउने व्यक्तिमा घाँटी दुख्ने, कम्मर दुख्ने, हड्डी दुख्ने, आँखामा समस्या देखिने जस्ता शारीरिक समस्याहरू निम्तिने गर्छन् ।

दैनिक १० घण्टा मोबाइलको प्रयोग गर्ने ५५ वर्षे वयस्कको अवस्था केही समयपछि ८० वर्षका वृद्धको जस्तै हुने बताइएको छ ।

मोबाइलको रेडियसनले छालामा असर गर्ने मात्रै नभएर औसत आयूमा ३ देखि ५ वर्षको फरक पर्ने अध्ययनले पत्ता लगाएको छ ।

अमेरिकी अनुसन्धानकर्ता लियोनिड म्याकोटिकले अनावश्यक रूपमा धेरै मोबाइल चलाउने दुई सय १० जना व्यक्तिहरूको हाउभाउ, हिँडडुल, काम, व्यवहार आदिको अध्ययन गरेका थिए ।

आवश्यकता पर्दा मात्रै मोबाइल प्रयोग गर्ने र गेम तथा अन्य मनोरञ्जनका लागि सकभर ठूलो स्क्रिन भएको ग्याडजेट प्रयोग गर्न सुझाइएको छ ।

साथै, आँखामा असर कम गर्न मोबाइललाई पर्याप्त प्रकाश भएको स्थानमा मात्र प्रयोग गर्न पनि सुझाएको छ ।

Loading...