Rumpum

Rumpum Advertisement

प्रिमियर लिगमा डेब्यू गर्न तयार रोड्रिग्वेज

प्रिमियर लिगमा डेब्यू गर्न तयार रोड्रिग्वेज

एजेन्सी, २८ भदौ । कोलम्बियन स्टार जेम्स रोड्रिग्वेजले आइतबार (आज) इंग्लिस क्लब इभर्टनबाट इंग्लिस प्रिमियर लिगमा डेब्यू गर्ने सम्भावना रहेको छ ।

इभर्टनका प्रशिक्षक कार्लो एन्सलोट्टीले रोड्रिग्वेजले टोटनह्यामसँगको खेलबाट प्रिमियर लिगमा डेब्यू गर्नसक्ने बताएका हुन् ।

इभर्टनले नयाँ सिजनको प्रिमियर लिगमा आज टोटनह्यामसँग खेल्दैछ । नेपाली समयानुसार राति ९ः४५ बजेबाट सुरु हुने यो खेल टोटनह्यामको मैदानमा हुनेछ ।

यसै साता रियल मड्रिडबाट इभर्टनमा अनुबन्ध भएका रोड्रिग्वेजले टोटनह्यामसँग खेल्दै प्रिमियर लिगमा डेब्यू गर्ने अपेक्षा गरिएको छ ।

यता, प्रशिक्षक एन्सलोट्टीले पनि रोड्रिग्वेज डेब्यू गर्न तयार रहेको बताएका छन् ।

‘जेम्सले यो साता पूरा अभ्यास गरेका छन् । उनी पूर्ण फिट छन्’, शनिबार उनले भनेका छन्, ‘आजको खेलमा जेम्ससहित तीन नयाँ खेलाडी डेब्यू गर्न तयार छन् । सबैले यो साताको प्रशिक्षण गरेका छन् र उनीहरू सबै खेल्न तयार छन् ।’

‘उनीहरू ९० मिनेट खेल्न सक्षम छन् भन्ने कुरा मलाई थाहा छैन । र, कसले सुरुआतबाट खेल्नेछन् त्यो पनि यकिन छैन । तर, उनीहरू सबै टोटनह्यामसँगको खेलमा उपलब्ध छन्,’ उनले भने ।

जेम्सले एन्सलोट्टीको नेतृत्त्वमा तेस्रो पटक डेब्यू गर्दैछन् । यसघि उनले रियल मड्रिड र बायर्न म्युनिखबाट उनकै नेतृत्त्वमा डेब्यू गरेका थिए ।