पाकिस्तानी राजदूतसँग गृहमन्त्री थापाको भेटवार्ता

काठमाडौं, २८ भदौ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत जावेद र गृहमन्त्री थापाबीच गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

उनको विदाई भेटमा गृहमन्त्री थापाले जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकामा उनलाई धन्यवाद व्यक्त गरे ।

भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

राजदुत जावेदले नेपाल बसाई सुखद रहेको भन्दै नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको बताए । उनले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको टिप्पणी गरे ।

Loading...