अनुमतिविनाका कवाडी व्यापार रोक्न माग

काठमाडाैं, २८ भदाै । नेपाल कवाडी संघले संस्थाको सिफारिस र वाणिज्य विभागको अनुमतिविना व्यवसाय सञ्चालन गर्दा राजस्व गुम्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

कानूनी रूपमा कवाडी व्यवसाय सञ्चालन गरी व्यवस्थित गराउन पटकपटक गरिएको मागको सुनुवाई नहुँदा अझै पनि कतिपय व्यक्तिले दर्ताविना नै कवाडी आयात–निर्यात गरिरहेको संघले जनाएको छ । त्यस्ता गतिविधि रोक्न संघले सरकारसँग माग गरेको हो ।

संघले यसअघि गृह मन्त्रालयमा निवेदन नै दिएर संस्थाको सिफारिस र वाणिज्य विभागको अनुमतिविना कवाडी संकलन गर्न नदिन अनुरोध गरेको थियो ।

सोही पत्रको आधारमा विसं २०७६ मा गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार आवश्यक कारवाहीका लागि संघीय मालिमला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदनसहित पठाएको थियो ।

गृह मन्त्रालयले संस्थाको सिफारिसको सन्दर्भमा भने एकाधिकार बढ्न जाने जनाउँदै उक्त व्यवस्था लागू गर्न नसकिने जनाएको छ ।

संघीय मालिमला तथा सामान्य प्रशासन मन्त्रालयले मागअनुसार संघको सिफारिस र वाणिज्य विभागको अनुमतिमा व्यवसाय दर्ता गरी सञ्चालन गर्ने वातावरण निर्माणमा कानुनअनुसार आवश्यक कारवाहीका लागि भनेर उपत्यकाको तीन जिल्ला र काभ्रेपलाञ्चोकका स्थानीय तहमा परिपत्रसमेत गरेको थियो ।

मागको अझै सुनुवाई हुन नसकेको सङ्घले जनाएको छ । सङ्घ २०४७ सालमा स्थापना भएको थियो । रासस

Loading...