आर्थिक अभावमा भीमको उपचार रोकियो

सहयोगका लागि याचना

विराटनगर, २८ भदौ । विगत छ वर्षदेखि गम्भीर फोक्सोको रोगसँग जुधिरहेका भीम इजमले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।

आर्थिक सहयोग जुटाएर उपचार गराइरहेका उनमा फोक्सोको कारण पेट फुल्ने अर्को समस्या भएपछि सबैसँग सहयोगका लागि हत फैलाएका हुन् ।

मोरङको पथरीशनिश्चरेमा ऐलानीमा बस्दै आएका उनी ताप्लेजुङ फुङलिङ नगरपालिका–११ का हुन् । रोगको कारण ताप्लेजुङको चिसोमा बस्न कठिन भएपछि उनी तराई झरेका थिए । यसअघि उनी झापामा दाजुसँगै बस्दै आएका उनले अस्पताल धाउन असहज भएपछि ०७६ वैशाखबाट पथरीशनिश्चरे सरेको बताए । त्यहाँ दाजुभाइ र आफन्तले बासको झुपडी हालिदिएका थिए ।

छ वर्षको उपचारका क्रममा सबै पैसा सकिएर रोगको पीडा सहेर सुत्न बाध्य रहेको उनले बताए । गत वर्ष माघदेखि पेट फुलेर एकदम गाह्रो भएपछि ऋणपान गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुरानो डाक्टरलाई देखाएका थिए ।

फोक्सोको कारण मुटु सुन्निएको र मुटुको कारण पेटमा पानी जमेको डाक्टरले जानकारी दिएको उनले बताए । डाक्टरले नियमित उपचार गरे निको हुने भने पनि आर्थिक कारणले रोकिएको उनले बताए । पेटमा एसिटिक फ्युलुट बढेर धेरै गाह्रो भएपछि सबैसँग हारगुहार गरेर पथरी र उर्लाबारिमा दुईपटक पानी ताने पनि फेरि अवस्था उस्तै रहेको छ ।

फोक्सोको दीर्घरोग निको नभए पनि बेलैमा राम्रो ठाउँमा उपचार पाए यो पेट फुल्ने समस्याबाट चाहिँ मुक्त हुने उनको आशा छ । अझै बाँच्ने रहर भएकाले सबैलाई सहयोग गरिदिन उनले अनुरोध गरे ।

उनी श्रीमती सीता र १० वर्षीय छोरा तथा छ वर्षीय छोरीसँग बस्दै आएका छन् । नानीहरु र आफ्नो सामान्य औषधि र खानपानका लागि श्रीमती एक्लैले रातदिन बनिबुतो गर्ने गरेको उनले बताए ।

३३ वर्षीय भीममा २०७१ सालदेखि श्वासप्रश्वाससम्बन्धी समस्या सुरु भएको थियो । स्थानीय अस्पतालमा ठिक नभएपछि उनी ७२ साल जेष्ठ २९ मा भारतको सिक्किममा गएर छ महिनासम्म उपचार गराएका थिए ।

त्यहाँ छ महिना उपचार गराउँदा पनि ठिक नभएपछि उनी धरानस्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदै आएका छन् ।

फोक्सोमा गम्भीरखालको इन्फेक्सन छ । फोक्सो सुकेर ६५ प्रतिशत ड्यामेज भएका कारण अप्रेसन पनि नहुने डाक्टरले बताएपछि रोकथामको औषधि खाइरहेका थिए ।

यसअघि उनले फोक्सोको उपचार सम्भव नहुने थाहा पाएपछि आयुर्वेदिक उपचारको प्रयास पनि गरे । आयुर्वेदिक उपचारका लागि उनी नेपाल र भारतका धेरै ठाउँमा एक वर्षसम्म दौधधुप गरे पनि केही उपलब्धि नभएको बताउँछन् । उपचारको दौडमा आर्थिक अवस्था खस्क्यो र स्वस्थ्य झनै बिग्रियो ।

उनी घोपामा भने नियमित धाइरहेका थिए । यसै क्रममा ०७४ असारमा अचानक शरीर सुन्निएर सिकिस्त हुँदा विदेशमा रहेका आफन्तहरुको सहयोगमा उपचार पाएका थिए ।

भीम लुङ्माहिम काइँलाको नाममा सहित्य सिर्जना पनि गर्छन् ।

Loading...