Rumpum

Rumpum Advertisement

विराटनगर भन्सारको छुट्टै ‘आइसोलेसन’

विराटनगर भन्सारको छुट्टै ‘आइसोलेसन’

विराटनगर, २८ भदौ । कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि विराटनगर भन्सारले कर्मचारीका लागि छुट्टै आइसोलेसन बनाएको छ । विराटनगर महानगरपालिका–१७ रानीस्थित विराटनगर भन्सार कार्यालयको पुरानो भवनलाई अस्थायी ‘आइसोलेसन’ बनाएको हो ।

एकीकृत भन्सार जाँच चौकी (आईसीपी) विराटनगर–१८ मा रहेको नयाँ भवनमा सरेपछि प्रयोगविहीन भएको पुरानो भवनलाई ‘आइसोलेसन’ बनाइएको विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले जानकारी दिए ।

मृतकको कन्ट्याक ट्रेसिङमा १० जना पोजेटिभ

संक्रमणपछि मृत्यु भएका विराटनगर भन्सार कार्यालयका एक एजेन्टको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका १० जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा आठजना भन्सारका कर्मचारी र अरु दुईजना एजेन्ट रहेका छन् । संक्रमित कर्मचारीमा तीनजना अधिकृत र दुईजना नायव सुब्बा रहेको भन्सार कार्यालयका प्रमुख भण्डारीले बताए ।

भन्सारका एजेन्ट विराटनगर–१० घर भएका ५८ वर्षीय पुरुषको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साउन २४ गते मृत्यु भएको थियो । मृत्युपछि उनको सम्पर्कमा रहेका कर्मचारी र एजेन्टहरुको पीसीआर परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएकामध्ये सातजना कर्मचारी र दुवै भन्सार एजेन्ट उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

मृतक एजेन्टको कोसी अस्पतालमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । तर प्रतिष्ठानले पनि मृत्युपछि स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ।

भन्सार कार्यालयकी प्रवक्ता सुुनिता पौडेलका अनुसार सुरुमा भदौ १ गते एकैपटक चारजना कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि गरिएको पीसीआर परीक्षणका क्रममा अरु थप चारजनामा संक्रमण देखिएको उनको भनाइ छ । पौडेलले हालसम्म भन्सार प्रमुख भण्डारीसहित ३२ जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिसकिएकोमा २४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् । भन्सार प्रमुख भण्डारीले कर्मचारीलाई संक्रमण देखिए पनि कार्यालयको काम कारवाही भने सुचारु रहेको बताए ।