पटक-पटक तिर्खा लाग्नु स्वास्थ्यमा समस्या भएको संकेत

पटक-पटक तिर्खा लाग्नु स्वास्थ्यमा समस्या भएको संकेत

विराटनगर, २८ भदौ । शरीरको पानीको मात्रा कम भएको बेला सामान्यता मानिसलाई पानीको प्यास अर्थात् तिर्खा लाग्ने गर्छ ।

गर्मीका कारण, धेरै काम गर्दा वा अत्यधिक व्यायाम गर्दा तिर्खा महसुस हुनु स्वभाविक हो । तर, केही कारणविना नै पटक–पटक तिर्खा लाग्छ भने यसले स्वास्थ्यमा समस्या भएको संकेत दिन सक्छ । डिहाइड्रेसन हुँदा पनि तिर्खा मुख्य लक्षण हो । डिहाइड्रेसन हुँदा शरीरमा सामान्य कामहरू गर्नका लागि पर्याप्त पानी हुँदैन ।

डिहाइड्रेसन धेरै कारणहरूले हुन सक्छ । व्यायाम, झाडापखाला, बान्ता, वा धेरै पसिना आउनाले डिहाइड्रेसन हुन्छ, जसकारण पटक–पटक तिर्खा लाग्न सक्छ । तिर्खा मधुमेहको पनि एक लक्षण हो । शरीरले इन्सुलिन पर्याप्त मात्रामा उत्पादन गर्न नसक्दा वा राम्रोसँग प्रयोग गर्न नसक्दा मधुमेहको समस्या हुन्छ । यसले धेरै चिनी (ग्लुकोज) शरीरमा निर्माण हुन्छ ।

ग्लुकोज बढी हुने हुँदा पटक–पटक पिसाब लाग्ने समस्या हुन्छ । यसले शरीरलाई डिहाइड्रेट गर्छ, जसकारण धेरै तिर्खा लाग्ने गर्छ । मिर्गौलाले शरीरमा पानीको मात्रा नियन्त्रण गर्ने हर्मोन पर्याप्त मात्रामा उत्पादन नहुँदा पनि अत्यधिक तिर्खा लाग्नु एक प्रमुख लक्षण हुन सक्छ । त्यस्तै मुख धेरै सुख्खा हुँदा पनि धेरै तिर्खा लाग्छ ।

मुखमा रहेको ग्रन्थीहरूले कम थुक बनाउँदा यस्तो हुने गर्छ । विभिन्न रोगहरूको औषधि, क्यान्सर, टाउको र घाँटीमा स्नायु क्षति, वा सुर्तीजन्य प्रयोगको कारणले गर्दा पनि धेरै तिर्खा लाग्ने हुन सक्छ । एनेमिया हुँदा पनि तिर्खा धेरै लाग्ने गर्छ । शरीरमा पर्याप्त स्वस्थ रातो रक्तकोषहरू नहुने अवस्थालाई एनेमिया भएको भनिन्छ ।

हल्का एनेमिया हुँदा खासै तिर्खा नलागे पनि अवस्था गम्भीर हुँदै गएमा तिर्खा धेरै लाग्ने हुन्छ ।